चितवन विशेष

नारायणगढ-मुग्लिन सडकमा बम विस्फोटनका लागि थप १५ दिन दिउँसो १२ बजेदेखि ४ बजेसम्म बन्द

Banner

चितवन, फागुन ६

नारायणगढ-मुग्लिन सडकका दुईवटा खोलामा पुल बनाउनका लागि पहरो फुटाउन आज शनिबारदेखि थप १५ दिन बन्द भएको छ ।

चिसेन्जी र तुइनखोलामा पुल निर्माणका लागि नारायणगढ-मुग्लिन सडक आयोजनाले गत पुस ५ गतेदेखि दिउँसोको समयमा यातायात बन्द गर्दै आएको थियो । अघिल्ला दुई महिनामा काम नसकिएका कारण फागुन २० गतेसम्म समय थपगरी दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर पहरो फोड्ने काम गर्न लागेको सडक आयोजनाले जनाएको छ । सडक आयोजनाका अनुसार गत पुस ५ गतेदेखि माघ ५ गतेसम्म पहिलो र माघ ५ देखि फागुन ५ गतेसम्म दोस्रोपटक दैनिक ४ घण्टा सडक बन्द गरेर पहरो फोड्ने काम गरे पनि नसकिएपछि थप १५ दिन बन्द गर्न लागेको हो । यो सडकको चिसेन्जी, तुइन र कालीखोलामा पुल बनाउनका लागि आवश्यक क्षेत्र तयार गर्न पहरो फुटाएको हो ।

कालीखोलाको दुबैतर्फको पहरो फुटाएर पुल निर्माणको काम चलिरहेको छ । अन्य दुई खोलामा अपेक्षा गरेभन्दा कडा चट्टान भेटिएपछि पहरो फोड्न सकस भइरहेको छ । चिसेन्जीको मुग्लिनतर्फको पहरो काट्ने काम लगभग सकिएको छ तर नारायणगढतर्फको ३० प्रतिशत काम अझै बाँकी छ ।

चिसेन्जीको नारायणगढतर्फको र तुइन खोलाको मुग्लिनतर्फको ६० मिटर अग्लो पहाडलाई काटेर करिब २५ मिटरमा झारिएको भए पनि बाँकी फाड्न रक ब्रेकरले सम्भव नहुने निष्कर्षमा आयोजना पुगेको छ । गृहबाट रक्षा मन्त्रालयमा गएपछि नेपाली सेनाको प्राविधिक टोलीले पहरोमा कन्ट्रोल विस्फोट गर्छ । यो सडकखण्डमा पर्ने १९ वटा पुल मध्ये ४ वटा तयार भएर सञ्चालनमा आइसकेका छन् । बाँकी १५ वटा पुल मध्ये ९ वटा पुल तयार करिब तयार भइसकेका छन् । सेती दोभान, खहरे, डुम्रे, टोपे, न्याम्सी, खोर, लामोबालुवा, भोर्लेका पुल तयार भएर सञ्चालनको तयारीमा छन् ।

मुग्लिनबाट नारायणगढतर्फ आउँदाको पहिलो खोलो खहरेको पुलको काम अझै सुरु हुन सकेको छैन। पहुँचमार्गमा रहेका घरहरु भत्काउँदा दिनुपर्ने मुआब्जा रकम प्राप्त नहुँदा बनेका पुलहरु सञ्चालन गर्न र नयाँ बनाउन समस्या भइरहेको आयोजनाले जानकारी दियो। चालु आर्थिक वर्षमा १३ वटा पुलको काम सक्ने र मुअब्जाका लागि बजेट आएलगत्तै बनेका पुलहरु सञ्चालन गर्ने योजनामा आयोजना छ । पुल निर्माणका लागि २०८० पुस ९ गतेसम्मको म्याद छ।
यो सडकखण्डमा पुल बनाउने जिम्मा अनक कन्स्ट्रक्सनले पाएको हो । मुग्लिन नजिकैको खहरे खोलादेखि रिग्दी खोलासम्मका सात वटा पुललाई प्याकेज-१ र जुगेडीदेखि सिमलतालसम्मका आठ वटा पुललाई प्याकेज-२ बनाएर २०७६ चैत्र १० मा सम्झौता भएको थियो । प्याकेज-१ का पुल निर्माण गर्न ६७ करोड ९९ लाख ५९ हजार रुपैयाँमा र प्याकेज – २ का पुल निर्माण गर्न ५९ करोड ५ लाख ५९ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>