समाचार

बागमतीमा सवारी ट्रायलमा ७० अंकको प्रणाली लागु गर्ने नयाँ मन्त्रीको जमर्काे

Banner

हेटौंडा, माघ २१–

बागमती प्रदेशका नवनियुक्त श्रम, रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि ट्रायलमा ७० अंक ल्याए पास हुने प्रणाली लागु गर्ने जमर्काे गरेका छन् । पटक पटक रोकिँदै आएको उक्त प्रणाली लागु गर्न यसअघि मुख्यमन्त्री र यातायात मन्त्रीबीच जुहारी चलेको थियो ।

जुहारीका कारण पटक पटक रोकिँदै आएको लाइसेन्समा ७० अंक ल्याए पास हुने प्रणाली पुनः लागू गर्ने तयारी भइरहेको छ। मन्त्री एकालाल श्रेष्ठले ७० अंक ल्याए लाइसेन्स पास हुने प्रणाली कार्यान्वयन गर्ने बताएका हुन्। यसअघिको सरकारको श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले लागू गर्न खोजे पनि मुख्यमन्त्री राजेन्द्र पाण्डेले हस्तक्षेप गर्दा लागू हुन सकेको थिएन।

उनले ३ पटकसम्म उक्त प्रणाली लागू गर्ने तयारी गरेका थिए। मुख्यमन्त्री पाण्डेको हस्तक्षेपको कारण ३ पटक रोकिएको ७० अंक ल्याए ट्रायल पास हुने प्रणालीलाई वर्तमान सरकारका यातायातमन्त्री श्रेष्ठले छिट्टै लागू गर्ने दावी गरेका छन्।

अन्य प्रदेशहरुमा लागू भइसकेको प्रणाली बागमती प्रदेशमा मात्रै रोक्न नहुने भन्दै मन्त्री श्रेष्ठले केही दिनभित्रै औपचारिक कार्यक्रम गरेर सो प्रणाली लागू गर्ने बताए। ‘अन्य प्रदेशमा लागू भइसकेको ७० अंक ल्याए लाइसेन्सको ट्रायल पास हुने यो प्रणाली बागमती प्रदेशमा रोकिँदैन। अबको केही दिनमा नै हामी यसलाई लागू गर्छौ’, मन्त्री श्रेष्ठले भने।

सानो त्रुटिमा पनि फेल गराउदा लाइसेन्स वितरणमा ढिलाई हुनुको साथै चालकहरुले अवैधानिक रुपमा लाइसेन्स निकाल्ने प्रकरण बढेको उनको भनाई छ। ‘सानोतिनो गल्ति भनेको चलाउँदै जाँदा सिक्दै जान्छन्’, उनले भने‚ ‘सानो गल्तिमा पनि ट्रायल फेल गर्दा झन् बढी समस्या भएको छ। अरु प्रदेशमा लागू भइसकेको यो प्रणाली बागमती प्रदेशमा पनि अब रोकिँदैन।’

उनले अघिल्लो सरकारले किन रोक्यो भन्ने विषयमा आफूले जवाफ नदिने भन्दै आफूलाई कुनै पनि हालतमा सो प्रणाली लागू गर्ने दावी गरे। उनले काठमाडौंबाट उक्त प्रणालीको उद्घाटन गर्ने बताए। सोही कामका लागि श्रेष्ठ माघ २४ गते संघीय राजधानी काठमाडौं जाने तयारीमा छन्।

यसअघि एक महिनाअघि पुस २० गते बुधबारबाट यो प्रणाली लागू गर्ने तयारी थियो तर प्रदेशको तत्कालीन मुख्यमन्त्री पाण्डेले तेस्रोपटक उक्त प्रणाली कार्यान्वयन हुनबाट रोकेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>