राजनीति
श्रममन्त्री विवादित बनेपछि खुल्नै छाड्यो उनी जोडिएको म्यानपावरको वेबसाइट

काठमाडौं, माघ ४-
श्रम तथा रोजगार मन्त्री डोलप्रसाद अर्याललाई अन्तर्राष्ट्रिय बजार निर्देशक बनाएको सृष्टि ओभरसिजले हाल कम्पनीको वेबसाइट नै नखुल्ने बनाएको छ। म्यानपावर व्यवसायमा संलग्न रहेका अर्याललाई श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी दिइएको भन्दै चौतर्फी आलोचना भएपछि उक्त कम्पनीले वेबसाइट नै नखुल्ने बनाएको हो।
कम्पनीको वेबसाइट नखुल्ने बनाए पनि फेसबुक पेजको कभर फोटोमा भने अर्यालको फोटो अझै पनि भेटिन्छ। अर्याल स्वयंले म्यानपावर क्षेत्रमा आफ्नो संलग्नता स्वीकार गरेका छन्। ‘सन् २००३ देखि नै म म्यानपावर क्षेत्रमा संलग्न छु। नेपालीहरूका लागि जापानमा रोजगारसम्बन्धी निर्देशिका बनाउन मैले नै सहयोग गरेको छु,’ मन्त्री अर्यालले बुधबार भने, ‘राजनीतिमा आउनु अघिसम्म म्यानपावरहरूमा कन्सल्टिङ सेवा दिइरहेको हुन्थें। सल्लाह सुझाव दिनका लागि म त्यहाँ जाँदा साथीहरूले फोटो खिचेर राखेको हुनुपर्छ।’ अर्याल १५ वर्षभन्दा बढी जापान बसेका हुन्। उनले पुतलीसडकमा जापानी भाषा पढाउने संस्था पनि खोलेका थिए। अर्यालले धेरै मानिसलाई रोजगारीका लागि जापानसमेत पठाएका छन्।



























