चितवन विशेष
भरतपुरको मधुपुरीमा रहेको सरस्वती माविले स्वर्ण महोत्सवमा विविध कार्यक्रम गर्ने

चितवन, माघ ३-
भरतपुर महानगरपालिका–२३ मधुपुरीमा सरस्वती माध्यामिक विद्यालयले विभिन्न कार्यक्रम गरी स्वर्ण महोत्सव मनाउने भएको छ ।
आज (मंगलबार) पत्रकार सम्मेलन गरी विद्यालयले स्वर्ण महोत्सव समारोहमा गरिने विविध कार्यक्रमबारे जानकारी गराएको हो ।
स्वर्ण महोत्सव समारोहको पहिलो दिन भोलि माघ ४ गते बृहत् निःशुल्क खुला आँखा शिविरको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक नवराज पोखरेलले जानकारी दिए । उनले पत्रकार सम्मेलनमा भने, ‘भरतपुुर आँखा अस्पतालको प्राविधिक सहयोगमा भोलि निःशुल्क आँखा शिविर छ । अप्रेसन गर्नु परेमा पनि शुल्क लाग्ने छैन ।’ पोखरेलले आँखा शिविरमा सहभागी भई स्वास्थ्यलाभ लिन आग्रहसमेत गरेका छन् ।
यस्तै माघ ६ गते मोटरसाइकल ¥याली, ७ गते कलश शोभा यात्रा, ८ गते सांस्कृतिक कार्यक्रम, ९,१०, ११ गते पूर्वशिक्षक, पूर्वसमिति र चन्दादातालाई सम्मान कार्यक्रम रहेको पत्रकार सम्मेलनमा बितरित विज्ञप्तिमा उल्लेख छ ।
माघ १२ गते सरस्वती पूजा एवंम् स्वर्ण महोत्सव समापन कार्यक्रम रहेको छ । कलश शोभा यात्राको उद्घाटन भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले गर्ने पोखरलले बताए । विद्यालयले स्वर्ण महोत्सवको अवसरमा पुस १६ गते बृहत् खुल्ला रक्तदान कार्यक्रम गरिसकेको छ । यस्तै १८ गते अन्तर मावि हाजिरीजवाफ प्रतियोगिता, २६ गते शिक्षक भलिबल प्रतियोगिता, २७ गते टोलविकास संस्था स्तरीय भलिबल प्रतियोगिता, २८ गते अन्तर मावि विद्यार्थी फुटसल प्रतियोगिता, २९ गते आमा भेला र महिला अभिभावक केन्द्रित कार्यक्रम गरेको विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।
विद्यालयले समारोहमा एक रुपैँयादेखि एक हजारसम्म दान गर्न चाहनेका लागि दानपेटिका राखिने बताएको छ । पाँच हजारसम्म दान गर्नेको स्वर्ण स्मारिकामा नाम प्रकाशन गरिने छ । १० हजारसम्म दान गर्नेलाई मायाको चिनो सहित स्मारिकामा नाम उल्लेख गरिने छ । २५ हजारसम्म दान गर्नेलाई माथि उल्लेखित सबै सम्मान सति दोसल्ला ओडाइने छ । ५० हजारसम्म दान गर्नेलाई माथिका सबै सम्मान सहित भित्ते लेखन गरिने जनाइएको छ । त्यसैगरी एक लाखसम्म दान गर्नेलाई माथिका सबै सम्मान सहिते शिलालेखमा नाम प्रकाशन गरिने छ । दुई लाख ५० हजारसम्म दान गर्नेलाई माथिका सबै सम्मानसहित रथारोहण गराइने छ । पाँच लाखसम्म दान गर्नेलाई माथिका सबै सम्मान सहित रथथारोहण गराई कार्यालय कक्षमा फोटो सहित नाम राखिने विद्यालयले वितरण गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सात लाख ५० हजारसम्म दान गर्नेलाई माथिका सबै सम्मान सहित नाम र फोटो कक्षा कोठा अगाडि राखिने छ । १० लाखसम्म सहयोग गर्नेलाई माथिका सबै सम्मानसहित तीन पुस्ते खुलाएर चन्दादाताको परिवारको फोटो टाँसिने छ । २५ लाखसम्म सहयोग गर्नेलाई माथिका सबै सम्मान सहित विशिष्ट चन्दादाताको उपाधि प्रदान गरिने जनाइएको छ । यो भन्दा बढी दान गर्नेको नाममा विद्यालयको एउटा बल्क नामाकरण गरिने विद्यालयले जानकारी दिएको छ ।























