देश/प्रदेश

बागमती प्रदेशमा सभामुखको उम्मेदवारी दर्ता आज

Banner

हेटौंडा, पुस २८–

बागमती प्रदेशसभा सभामुख चयनका लागि बिहीबार उम्मेदवारी दर्ता हुँदैछ। पुस १८ गते सोमबार बसेको सर्वदलीय बैठकले सभामुखको निर्वाचनका लागि बिहीबार उम्मेदवारी दर्ता गर्ने निर्णय गरेको थियो।

सभामुखको निर्वाचनको प्रक्रिया पुस २७ गते नै सुरु गर्ने निर्णय गरे पनि त्यसलाई संशोधन गरी एक दिन पछि सारिएको थियो। बागमती प्रदेशसभाका सचिव कृष्णहरि खड्काले सभामुखको निर्वाचनका लागि बिहीबार बिहान १०ः३० बजेदेखि २ बजेसम्ममा मनोनयन दर्ता गराउने कार्यतालिका रहेको जानकारी दिए।

सभामुख चयनका लागि शुक्रबार निर्वाचन हुनेछ। नेपालको संविधानको धारा १८२ को उपधारा १ बमोजिम प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यमध्येबाट सभामुख निर्वाचन गर्नुपर्ने व्यवस्था छ।

प्रदेश सभा सचिवालयले बिहीबार बिहान साढे १० बजेदेखि २ बजेसम्म मनोनयन दर्ता गर्ने समय तोकेको छ। यस्तै, दिउँसो साढे २ बजेदेखि साढे ३ बजेसम्म मनोनयन फिर्ता गर्ने र ४ बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम तालिका सार्वजनिक गरेको छ। सभामुखको निर्वाचन पुस २९ गते बिहान ११ बजे हुने सचिवालयले जनाएको छ।

प्रदेशसभाको सभामुखमा सत्तारुढ गठबन्धनबाट राप्रपाका महामन्त्री भुवन पाठक उम्मेदवार बन्ने भएका छन्। बुधवार बसेको राप्रपा संसदीय दलको बैठकले महामन्त्री पाठकलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो। सत्तारुढ दलहरुबीच मुख्य पद भागबण्डा हुँदा बागमतीमा सभामुख राप्रपाले लिने सहमति भएको थियो।

सातदलीय गठबन्धनको सत्ता भागबण्डामा बागमती प्रदेशको सभामुख राप्रपाको भागमा परेपछि राप्रपाका पाठक सभामुख बन्ने निश्चितजस्तै छ। सत्तारुढ गठबन्धनले बागमती प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्र र नेकपा एमालेलाई आलोपालो, सभामुख राप्रपा तथा उपसभामुख एमालेलाई भाग लगाएको थियो। एमालेले भने बिहीबार मात्र दलको बैठक बसेर उपसभामुखका उम्मेदवार चयन गर्ने जनाएको छ।

सभामुखमा राप्रपाले पुरुषलाई उम्मेदवार बनाउने भएपछि उपसभामुखमा एमालेले महिला सांसदलाई उम्मेदवार बनाउनुपर्ने संवैधानिक बाध्यता छ। संविधानअनुसार सभामुख र उपसभामुख एउटै दल र लिंगको हुनुहुँदैन।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>