राजनीति
ग्लोबल आइएमई बैंकको बैंकिङ कारोबार शनिबार र आइतबार बन्द हुने

काठमाडौं, पुस २२-
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जरपछि पुस २५ गतेदेखि ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार सुरू हुने भएको छ। यसअघि दुबै बैंकका साधारण सभाबाट मर्जर गर्ने विशेष प्रस्ताव पारित भएको थियो भने नेपाल राष्ट्र बैंकबाट समेत अन्तिम स्वीकृति प्राप्त भइसकेको छ।
मर्जरपछि एकीकृत वित्तीय कारोबार सुरू गर्न डाटा माइग्रेसनका लागि शनिबार र आइतबार दुई दिन ग्लोबल आइएमई बैंकको सम्पूर्ण बैंकिङ सेवा बन्द रहनेछ। सो अवधिमा बैंकको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट तथा क्रेडिट कार्ड, एटिएम तथा एजेण्टमार्फत हुने रेमिटेन्स सेवा भने यथावत सञ्चालनमा रहने बैंकले बताएको छ।
मर्जरपछि बैंकको कुल पुँजी ५७ अर्ब रुपैयाँ, चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ, कुल निक्षेप ४ खर्ब ८ अर्ब रुपैयाँ, कुल कर्जा ३ खर्ब ७६ अर्ब रुपैयाँभन्दा बढी पुग्नेछ।मर्जरपछि बन्ने नयाँ बैंक कुल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बन्ने दाबी बैंकले गरेको छ।



























