राजनीति
लिङ्देनलाई काँग्रेसको प्रधानमन्त्री अफर,विश्वासको मत लिन नपाउँदै सरकार ढाल्ने कसरत

काठमाडौं,पुस २१-
पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकार ढाल्न कांग्रेसले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्री ‘अफर’ गरेको छ। पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका दाहाल नेतृत्वको सरकारलाई अघि बढ्न नदिन कांग्रेसले राप्रपालाई प्रधानमन्त्री नै अफर गरेको हो।
२७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मतका लागि कम्तिमा १३८ मत चाहिन्छ। एमाले, माओवादी केन्द्र, रास्वपासहितका दलको गठबन्धनबाट राप्रपालाई बाहिर निकाल्नसके दाहाल नेतृत्वको सरकार तत्कालै ढाल्न सकिने विश्लेषण गर्दै कांग्रेस सभापति देउवाले लिङ्देनलाई प्रधानमन्त्री नै अफर गरेका हुन्। राप्रपाका एक नेताले देउवाबाट प्रधानमन्त्रीको प्रस्ताव आएको पुष्टि गर्दै भने, ‘प्रधानमन्त्रीको प्रस्ताव आएको हो। यस विषयमा हामीले निर्णय गरिसकेका छैनौँ।’ ती नेताले दाहाल नेतृत्वको सरकारलाई समर्थन गरिसकेकाले उसले आफ्ना माग पूरा गरेको अवस्थामा उनैलाई विश्वासको मत दिने बताए।



























