देश/प्रदेश
स्थानीय तहका प्रमुख अब सांसद

काठमाडौँ, मंसिर १८–
स्थानीय तहमा पालिका प्रमुख भइसकेका १२ जना प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्। मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा चार जना प्रतिनिधि सभा सदस्य र आठ जना प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्।
२०७४ सालको पहिलो स्थानीय तह निर्वाचनमा स्थानीय सरकार प्रमुख भइसकेका बाँकेको नेपालगञ्ज उपमहानगरपालिका प्रमुख धवलशमशेर राणा बाँके निर्वाचन क्षेत्र नं २ बाट, रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख वासुदेव घिमिरे रुपन्देही क्षेत्र नं ५ बाट, काठमाडौँको गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे काठमाडौँ निर्वाचन नं ३ बाट र इलामको इलाम नगरपालिका प्रमुख महेश बस्नेत इलाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
प्रदेश सभामा स्याङ्जा जिल्ला समन्वय समितिका प्रमुख सीताकुमारी सुन्दास स्याङ्जा निर्वाचन क्षेत्र नं १ प्रदेश सभा (क), रुकुमपश्चिम जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्मा रुकुमपश्चिम निर्वाचन क्षेत्र नं १ (ख)बाट प्रदेश सभा सदस्यमा निर्वाचित भए ।
काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ काठमाडौँ निर्वाचन क्षेत्र नं ६ (क), ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ ललितपुर २ (क) र मोरङको विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली मोरङ ४ (ख)बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।
त्यस्तै कास्कीको मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ कास्की निर्वाचन क्षेत्र नं १ (क)बाट, स्याङ्जाको आँधीखोला गाउँपालिकाका अध्यक्ष सुधीर पौडेल स्याङ्जा १ (ख)बाट र इलामको रोङ गाउँपालिका अध्यक्ष शमशेर राई इलाम १ (क)बाट प्रदेश सभामा निर्वाचित भएको जिल्ला समन्वय समिति महासङ्घ नेपाल, गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र नेपाल नगरपालिका सङ्घले जानकारी दिएको छ। स्थानीय तहमा बसेर काम गरेका व्यक्ति जनतासँग नजिकमा रहेर काम गर्ने भएकाले पार्टीले विश्वास गरेर उम्मेदवार बनाएको र त्यसलाई मतदाताले अनुमोदन गरेको निर्वाचित प्रतिनिधि तथा प्रदेश सभा सदस्यहरूले दाबी गरेका छन्।
काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका पूर्वनगर प्रमुख हाल काठमाडौँ निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सन्तोष चालिसेले पार्टीले विश्वास गरेर उम्मेदवार बनाएको र त्यसलाई मतदाताले अनुमोदन गरी निर्वाचित गराएको बताए । उनले भने, “स्थानीय तह भनेकै जनताको सुख–दुःखमा साथ दिने सरकार हो। स्थानीय तहमा राम्रो काम गर्ने कुनै पनि जनप्रतिनिधिले कुनै पनि निर्वाचनमा पराजय भोग्नुपर्दैन। त्यसका लागि म उदाहरण हुँ।”
गोरखापत्रबाट


























