चितवन विशेष

कोइलाको अभाव हुँदा आरन पेसा संकटमा, पेसा पुस्तान्तरण हुन सकेन

Banner

प्रतिमा कुमाल
चितवन, मंसिर १७–

कृषि कर्मदेखि भान्सासम्म आरनसँग जोडिएको छ । आरनमा बनेका कचिया, हँसिया, हलोको फाली, रागा बसिला, कुटो, कोदालो, दाउ, बन्चरो, चाकु दैनिक प्रयोगमा आउने वस्तु हुन् । तर पनि यो पेसा संकटमा परिरहेको छ । आरन पेसा गरिरहेकालाई पनि जिविकोपार्जन गर्न धौधौ परेको छ । जसकारण यस पेसाबाट आरन व्यवसायी निराश बन्दै गएको माडी नगरपालिका–९ बगई बसपार्कका आरन व्यवसायी भिम बहादुर विश्वकर्मा बताउँछन् ।

काम नपाएर भन्दापनि काम गर्न नपाएर आरन व्यवसाय धरापमा परेको उनी बताउँछन् । ‘व्यवसाय भनेको कस्तो हुदो रहेछ भने आफुले काम गर्ने चिज भयो भने व्यवसाय हुँदो रहेछ । काम गर्ने चिज भएन भने व्यवसाय नहुँदो रहेछ । निकुञ्जका कारण खोलामा गएर बन्चरो खेलाउन पाइँदैन । मुडा जराजुरी काट्न पाइँदैन । दाउरा नभएपछि कोइला बन्दैन । कोइला नभएपछि आरन चल्दैन,’ उनले भने ।

उनले विगत २५ वर्ष देखि यहाँ आरनको काम गर्दै आएका छन् । आरनलाई चाहिने कोइला नुहँदा जिविकोपार्जनमा समेत असर परिरहेको उनले दुखेसो गरे । चितवन राष्ट्रिय निकुञ्जसंग जोडिएकाले माडी पर्यटकीय गन्तव्य बने पनि यसका कारण आरन व्यवसायीको रोजगारी भने खोसिएको गुनासो उनको छ । ‘पहिला सजिलै सुकेका दाउरा निकुञ्जबाट ल्याउन पाइन्थ्यो । अहिले जंगलमा दाउरा कुहिएर खेर गएको छ, ल्याउन पाइँदैन । गाउँमा प्रसस्त काम छन् । आफु खालि बस्नु परेको छ’, उनले भने ।

राष्ट्रिय निकुञ्जमा पर्यटक भित्रिय रोजगार सिर्जना हुन्छ भन्दै गर्दा आफ्नो भने व्यवसाय नै ठप्प भएको उनको गुनासो छ । उनी कोइलाको समस्या टार्न नगरपालिकाको कार्यालयसम्म नपुगेका पनि होइन् । तर त्यहाँबाट आश्वासन बाहेक केहि नपाएको उनी बताउँछन् । उनले भने, ‘मेयरले कोइलाको समस्या हामी समाधान गर्छौ भन्ने कुरा गर्नुभयो । योसंगै आरनको लागि आवश्यक सामान ल्याउन पनि सहयोग गर्छु भन्नुभयो । हाम्रो पेसा जोगिने भयो भनेर मख्ख प¥यौं, तर कुनै पुरा भएन ।’

दिनहुँ नगरपालिका धाउन नसक्दा पनि आफ्नो समस्याप्रति सरोकारवालाको ध्यान नगएको हुन सक्ने उनी बताउँछन् । ‘विहान बेलुकी हात मुख जोड्न मुस्किल भएको बेला ७०–७० रुपैयाँ बस भाडा तिरेर नगरपालिका धाउन सकिन । धाउन नसकेपछि जनप्रतिनिधिले वाचा भुल्दा रहेछन्’, उनले भने । रोजगारी दिन नसक्ने जनप्रतिनिधिले भएको व्यवसायको पनि संरक्षण गर्न पहलकदमी नगर्नु गैरजिम्मेवारीपन भएको उनले बताए ।

अहिले माडी–९ मा उनको मात्र आरन छ । दाउरा र कोइला नपाउँदा यसलाई उनले व्यवसायीक रुपमा लैजान सकेका छैनन् । उनका छोराहरुले पनि यो पेसा अपनाउन चाहेनन् । जसले गर्दा आफुसंगै पुख्र्यौली पेशा लोप हुने डर रहेको उनले बताए । ‘अझै पनि आरन व्यवसायलाई अपहेलना गर्नेको कमि छैन । दलित समुदायको पुख्र्यौली पेसा रहेकाले यस पेसालाई तल्लो नजरले हेर्ने गर्छन् । धेरैजसो विश्वकर्मा आरन व्यवसाय छाडेर अन्य पेशामा लागेका छन् । यसले गर्दा मेरो छोराहरुले पनि यो काम नगर्दा हुन्छ भन्छन् । सिक्न पनि चाहान्नन् । यो सिप मसंगै खरानी हुने भयो’, उनले भने ।

दलित समुदाय प्रतिको छुवाछुतले गर्दा नै नयाँ पुस्ताले पुख्र्यौली सिप सिक्न नचाहेको उनको भनाइ छ । उनी भन्छन्, ‘सहर बजारमा दलित माथिको छिछिदुरदुर कम देखिए पनि गाउँमा यसको जरा अझै पनि बलियो छ । आरनको काम कामीले नै गर्छ भन्ने छ । कामले नै जात चिनाउँछ । सानो जात देखिन्छ कि भनेर होला छोराहरुले पनि गर्न मान्दैनन् ।’

५७ वर्षीय विश्वकर्माको २ छोरा छन् । दुवै जना ज्याला मजदुरी गर्छन् । आरनको काम जोखिमपूर्ण हुने भएकोले पनि इच्छा नभएकालाई जबरजस्ती सिकाउन नचाहेको उनी बताउँछन् । ‘यो कामको लागि बल, बुद्धि, जोस, जागर, इच्छाशक्ति चाहिन्छ । सानो गल्तीले अङ्गभङ्ग हुनसक्छ । ज्यान पनि जान सक्छ । जोखिमको काम जबरजस्ती सिकाउन हुदैन’, उनले भने ।

विश्वकर्मा समुदायको आरन पेसा अन्य समुदायले पनि केहि स्थानमा गर्न थालेकोप्रति भने उनी खुसि छन् । उनी भन्छन्, ‘काम भनेको सानो ठूलो हुदैन । सोचमा भर पर्छ । आफ्नै सन्तानले सिप सिक्न नमानेको अवस्थामा अन्य समुदायकाले गर्दा गर्व अनुभूति हुन्छ’, उनले भने ।
उनले आफ्नो बुबाबाट आरनको सिप सिकेका हुन् । उनले ३० रुपैयाँ ज्यालाबाट काम सुरु गरेका हुन् । उनले नयाँ करौती बनाएको ३०० रुपैयाँ र हँसियाको एक हजार रुपैयाँसम्म लिने गर्छन् । स्रोत साधनको कमि हँुदा अहिले साना तिना गाउँका आवश्यकतालाई उनले पुरा गरेका छन् । उनको ८ जनाको परिवारलाई नुन, तेल, तरकारीको जोहो यहि पेसाबाट हुने गरेको छ । पर्याप्त मात्रामा कोइला उपलब्ध भए जिवनस्तर उकास्न आरन राम्रो आम्दानीको स्रोत हुने उनी बताउँछन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>