अन्तर्राष्ट्रिय
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ

लन्डन, असार ३१-
अमेरिकाले लगातार चौथो रात पनि इरानमाथि हवाई आक्रमण जारी राख्दै इरानी बन्दरगाहतर्फ जाने–आउने जहाजमाथि पुनः नौसैनिक नाकाबन्दी लागू गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ ।
बुधबार बिहानको कारोबारमा लन्डनस्थित आईसी एक्सचेञ्जको कोमेक्स डिभिजनमा कच्चा तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको मूल्य शून्य दशमलव ३ प्रतिशतले बढेर प्रतिव्यारेल ८५ अमेरिकी डलर पुगेको छ । त्यस्तै अमेरिकी बेञ्चमार्क वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटीआई)को मूल्य शूनय दशमलव ५ प्रतिशतले बढ्दै प्रतिव्यारेल करिब ८० अमेरिकी डलर पुगेको छ ।
अमेरिकी सेनाले मंगलबार मध्य अप्रिलदेखि दुई महिनासम्म लागू गरिएको इरानमाथिको नौसैनिक नाकाबन्दी पुनः लागू गरिएको जनाएको थियो । यसअघि उक्त नाकाबन्दीले पनि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य तीव्र रूपमा बढाएको थियो ।
यद्यपि राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार स्ट्रेट अफ होर्मुज हुँदै आवतजावत गर्ने सबै मालवाहक जहाजमा २० प्रतिशत शुल्क लगाउने आफ्नो योजना त्यागेपछि तेल बजारका लगानीकर्ताले केही राहत महसुस गरेका छन् । उक्त योजना कार्यान्वयन भएको भए इरानले पनि स्ट्रेट हुँदै हुने आवागमनबाट शुल्क उठाउने प्रयासलाई वैधता मिल्ने विश्लेषण गरिएको थियो ।
बुधबार एउटा नोटमा दोयचे बैंकका विश्लेषकहरूले पछिल्लो मूल्यवृद्धिलाई लगानीकर्ताले धेरै ठूलो जोखिमका रूपमा नलिएको बताएका छन् । उनीहरूका अनुसार ब्रेन्ट तेलको मूल्य यस वर्षको सुरुआती उच्च स्तरभन्दा अझै निकै तल छ । केही महिनाअघि ब्रेन्टको मूल्य करिब दुई महिनासम्म प्रतिव्यारेल १०० डलरभन्दा माथि पुगेको थियो ।
यसैबीच, युद्ध पुनः सुरु भएपछि स्ट्रेट अफ होर्मुज भएर जहाजहरूको आवतजावत उल्लेखनीय रूपमा घटेको छ । जहाज ट्र्याकिङ कम्पनी क्प्लरका अनुसार मंगलबार उक्त स्ट्रेटबाट १७ वटा व्यावसायिक जहाज मात्र आवतजावत गरेका थिए । युद्धअघि भने यस मार्गबाट दैनिक औसत करिब १०० वटा व्यावसायिक जहाज गुड्ने गरेका थिए । एजेन्सी

























