विचार/ब्लग
वन डडेलो नियन्त्रणको लागि प्रभावकारी अग्नि रेखाको अवधारणा

शंकर पौडेल–
पालको कुल भूगोलको करिब ५० प्रतिशत जति भूभाग वन जंगलले ढाकेको छ। नेपालको वन विशेषत धेरैजसो चौडा पाते र खोटो हुने कोणधारि वनले ओगटेको देखिन्छ । चौडा पाते वन बढी सदाबहार वन भन्दा पनि पतझर र आंशिक तथा निरन्तर पात झरी रहने रुख वनस्पतिका प्रजातिहरूले ओगटेको देखिन्छ। यसरी झरेका पात वा नझारे पनि प्रज्वलनशील खोटो भएका दुवै कोणधारि वन र चौडापाते वन जंगलले वर्षेनी आफैलाई खाक बनाउने प्रज्वलनशिल पदार्थको उत्पादन गर्ने गर्दछ र यहि प्रज्वलनशील पदार्थको उपलब्धताको कारणले बर्सेनी वन डडेलो लाग्ने गर्छ ।
नेपालमा के तराइ, के चुरे, के महाभारत, के हिमाली क्षेत्र सबै स्थानमा वर्षेनी डडेलो लाग्ने गर्छ । एक तथ्यांकका अनुसार सन् २०१६ मा नेपालमा वन डडेलोको घटना धेरै भए । त्यो वर्ष ५५ सय भन्दा धेरै डडेलोको घटना भएको देखिन्छ भने त्यसले दुइ लाख तीस हजार हेक्टर जति वन क्षेत्र डडेलोले जलेको देखिन्छ। तथ्यांकका अनुसार २०१६ धेरै वन डडेलो लागेको भए पनि त्यो भन्दा अघि र पछिका वर्षहरुमा पनि निरन्तर वन डडेलो लागि रहेकै छ। वन डडेलो एक हिसाबले नराम्रो नै मानिन्छ । यसको राम्रो प्रयोग भयो भने आगो राम्रो पनि हो तर यो आफ्नो नियन्त्रणमा भएन भने विनाशक नै हो त्यसैले ‘आगो असल सेवक हो तर खराब मालिक’ हो भनेर भनेको पनि सुनिन्छ।
नेपालले सामुदायिक वन संरक्षणको निकै प्रगतिशील अवधारणाको विकाश गरेर विश्वमानै वन व्यवस्थापन र संरक्षणमा जना सहभागिता कत्तिको महत्वपूर्ण हुन्छ भन्ने कुरा सामुदायिक वनको सफल कार्यान्वयन गरेर प्रमाणित गरि सकेको छ। तर हालैका दिनमा आएर त्यसका केहि चुनौती र खराव पक्षहरुको पनि उजागर हुँदै गएको छ । त्यसमा सामुदायिक वनमा हुनुपर्ने स्वतस्फुर्त स्वयम् सेवी भावनाको स्खलन र त्यसको कारणले वन डडेलो नियन्त्रणमा प्रभावकारी हुन नसक्नु पनि एक देखिएको छ ।
जुनबेला सामुदायिक वनको अवधारणा थिएन, नेपाल सरकार जिल्ला वन कार्यालयले नै वन जंगलको छपन, कटान मुछन गर्थ्यो । कहिले कहिँ जंगल भित्रै गएर ती काम गर्नुपर्ने भएकोले काटिएका गोलिया र काठ ढुवानी गर्नको लागि वन पथ निर्माण गरिन्थ्यो । त्यही ट्याक्टर र ट्रक हिड्थे र ती पथ एक किसिमको सडकमा रुपान्तरित हुन्थे । त्यसैलाई पछि गएर फायर लाइन याने कि अग्नि रेखाको रुपमा चिनाइन थालियो । वास्तवमा ती अग्नि रेखा बनाउने उद्देश्यले बनाइएका भने हैनन् । यो प्रक्रिया अहिलेसम्म चालु छ । अहिले पनि नेपाल सरकारले व्यवस्थापनमा गर्ने चक्ला वनहरुमा वा वैज्ञानिक/दीगो वन व्यवस्थापनको अवधारणा लागु गरिएका सामुदायिक वनहरुमा या त ढुवानीलार्इ सहज बनाउन या कटानीलार्इ सहज बनाउन जंगललाई ब्लकमा विभाजन गर्न कोरिएका रुख/पोथ्रा बिहिन रेखालाइ नै अग्नि रेखा भनेर माने गरिएको छ । त्यसैले हाम्रो जंगलमा लाग्ने वन डडेलो सजिलै एक स्थानबाट अर्को स्थानमा सरिरहेको हुन्छ, वन डढी रहेकै हुन्छ।
हाम्रो देशमा हाल २०-२२ हजार भन्दा बढी संख्यामा सामुदायिक वन रहेका छन् । तिनीहरुले शुरुमा वन कार्य योजना भनेर बनाउँछन् । ती वनको उद्देश्य हेरियो भने १५-२० वटा पेज भरिको उद्देश्य राखिएता पनि ति सबै उद्देश्य हासिल गर्न गर्नुपर्ने क्रियाकलापहरुको कुनै तादात्म्यता देखिदैन । यो कुरा नहुँदा नहुँदै उनीहरुले पनि वन व्यवस्थापनको लागि अग्नि रेखा निर्माण गरेकै हुन्छन् । आफ्नो वन क्षेत्रलार्इ व्यवस्थपन इकाई वा ब्लकमा विभाजन गरेर राखेका हुन्छन् । प्रत्येक वर्ष अग्नि रेखा निर्माणको कार्यक्रम राख्छन्, बनाउनु खोजेको पनि देखिन्छ। तर त्यहाँ बन्ने वा बनाइने अग्नि रेखा पनि प्राविधिक दृष्टिले कस्तो हुनुपर्छ, बनाउनु पर्छ भन्ने सोच बिचार नगरी उहीँ वनलाई खण्डमा विभाजन गरि वन भित्र आउजाउ गर्न सहज बनाउनुको लागि बनाइने वन पथलाइ नै अग्नि रेखाको नाम दिएको देखिन्छ। जसले गर्दा वन डडेलो ठुलो लाग्छ सबै तिर फैलिन्छ।
त्यसैले आज यहाँ वनमा अग्नि रेखा बनाउँदा कस्तो स्थानमा कस्तो स्वरुपको बनाउनु उपयुक्त होला भन्ने चर्चा गर्न खोजिएको छ । सर्व प्रथम अग्नि रेखा निर्माण गर्ने हो भने मूल उद्देश्य वन डडेलो नियन्त्रणलाइनै केन्द्रमा राखिनु पर्छ न कि ढुवानी, कटानी वा यस्तै, उद्धेश्य अलग हुँदा त्यसको स्वरुप पनि फरक हुन्छ र आशातित उपलब्धि दिनु सक्दैन होला अग्नि रेखा र सडक हेर्दा उस्तै किन नदेखिउ। अग्नि रेखा निर्माण पुरा त्यो वन क्षेत्रको कम्तिमा पनि ५–१० वर्ष को डडेलोको उत्पत्तिको क्षेत्र वा बिन्दु, वन डडेलो सर्ने स्थान र हावा बहने दिशाको ऐतिहासिक तथ्य विश्लेषण गरि कुन स्थानमा अग्नि रेखा निर्माण गर्ने भन्ने निर्क्योल गर्नुपर्छ । त्यो निर्क्योल भएपछि हामीले ५–६ मि चौडा अग्नि रेखा निर्माण गर्न सक्छौ।
तर सामन्यतय बनाइने अग्नि रेखाले डडेलोलाइ नियन्त्रण गर्न सहयोग गर्छ त ? निश्चय पनि गर्दैन यदि त्यो अग्नि रेखाको दायाँ बायाँ थुप्रिएको वा थुप्रिने इन्धन को परिमाण, त्यो स्थानको भौगोलिक अवस्था र हावा बहने दिशा र त्यसको तिब्रता नहेरी बनाइने अग्नि रेखा प्रभावकारी हुनु सक्दैन। त्यस्तै अग्नि रेखा आफैमा आगोसंग जुध्नु सक्ने बन्यो कि बनेन् भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ।
अग्नि रेखालाइ आगोसंग जुध्न सक्ने बनाउन अग्नि रेखाको दुवै साइडमा सदाबहार रुखहरु पंक्तीमा रोपिनु पर्छ ।
ती सदाबहार रुखहरुको छेउमा अर्को हरित पेटी पनि समानान्तर रुपमा निर्माण गर्नुपर्छ। यसरी रोपिने सदाबहार रुखहरुको हाँगाहरुलाई चारै तिर बढ्न दिनुको साटो अग्नि रेखासंग समानान्तर मिल्ने गरि दुइ साइडमा मात्रै बढ्ने गरी ट्रि–ट्रेनिङ्गको काम गर्नुपर्छ । त्यस्तै ती रुखहरुको फेदमा या त जंगलमा भएका ढुंगाहरुचिनेर ड्राइ पर्खाल चिन्नु सहयोगी हुनु सक्छ वा हरियो रही रहने खाले हेज रो बनाएर तेसको माथिल्लो भागलाई कोणको स्वरुप बन्ने गरि मिलाउनुपर्छ, जसले गर्दा रुखबाट झरेका पातहरुलाई हेज रो को दायाँ बायाँ तिर झर्न पुर्याउन सक्छ । तेही काम यदि पर्खाल बनाइयो भने तेसले गर्न सक्छ। वन डडेलो नियन्त्रण प्रकृतिमा आधारित उपाय अबलम्बन गरेर गर्दा हाम्रो पारिस्थितिकीय प्रणालीलाई पनि सहयोग गर्ने हुँदा प्रकृति मैत्री उपाय भन्दा अन्य कार्य गर्नु स्वीकार्य हुँदैन ।
केहि समय अगाडि सुर्खेतको वन क्षेत्र भ्रमणको क्रममा के देखियो भने गाडीको कारणले आगलागी शुरु भयो एक साइडमा जहाँ सुख्खा पात पतिङ्गरहरु जम्मा भएको थियो । त्यसले चुरोटको ठुटोबाट आगो टिप्यो र एकै छिनमा बाटोको पल्लो तिर पनि पुग्यो र एउटा क्षेत्रमा आगो लागेर छोड्यो । पिच रोड आफैमा अग्नि रेखा भए पनि हरित पेटी नभएकोले आगो लाग्न सक्यो । त्यसैले अग्नि रेखा निर्माणसंगै हरित पेटी अनिवार्य देखिन्छ।
त्यति मात्रै नभई तेस्ता अग्नि रेखाको नजिकै वन पोखरीहरु निर्माण गरेर वर्षाको पानी संकलन गरेर राख्नु पर्छ ता कि आगो लागि हाल्यो भने त्यो पानीको प्रयोग गरेर आगो निभाउनु सकिन्छ । यसैगरि त्यो वनको नजिकमा अग्नि शमन यन्त्रहरु विशेष गरि डडेलोको सिजनमा चालु हालत राख्न सकियो र केहि व्यक्तिलाई आगो निभाउने कलामा तालिम दिएर तयार गर्न सकियो भने अग्नि रेखा कामयावी हुन सक्छ । यो भनेको एक किसिमको एकीकृत प्रणालिको स्थापना हो।
अब खास गरेर नेपाल सरकार, प्रादेशिक वा स्थानीय सरकार र सामुदायिक वन हरुले यी कुरा हरु ध्यान नदिकन अग्नि रेखाको नाममा सडक मात्रै निर्माण गरे भने त्यो अप्राप्य श्रोतको दुरुपयोग मात्रै हो र अपिसको काम सम्पन्न गरियो भनेर कागजमा उपलब्धि देखाउनु बाहेक केहि हुन् सक्दैन।
नेपालमा यस्ता अग्नि रेखाहरु कहिँ कतै बनेको देखिएको छैन । मेरो आग्रह छ सरकार वा गैर सरकारी संस्थाहरुले यस्ता उत्क्रिस्ट अग्नि रेखा निर्माण गरेर नमुना देखाउनु पर्ने बेला आएको छ । प्रकृति मैत्री समाधानका उपायको चर्चा धेरै हुन्छ तर यो कसरि गर्न सकिन्छ भनेर कसैले नमुना निर्माण गरेको देखाएको पाइदैन । त्यसैले वन विषय पढेका व्यक्तिहरुले आफ्नो ज्ञान सिप र क्षमता प्रयोग गरेर प्रकृति मैत्री नमुना अग्निरेखा निर्माण गरेर सबैलाई सहयोग गर्नु पर्छ । यो लेखको आशय पनि विज्ञहरुको सुझाव आओस् र एउटा नमुना प्रभावकारी अग्नि रेखाको नमुना प्रस्तुत गर्न सकियोस् ।
(लेखकः सम्पत्ति रुपान्तरण, काठमाडौँ, कार्यकारी निर्देशक हुन्)

























