Breaking News
चितवन क्षेत्र नम्बर १ मा समाजवादीबाट खनालले संघीय सांसदमा उम्मेदवारी दिने

चितवन, भदौं ८-
नेकपा एकीकृत समाजवादीले आगामी मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि चितवन क्षेत्र नम्बर १ का लागि उम्मेदवार छनौट गरेको छ ।
समाजवादी क्षेत्र नम्बर १ को बुधवार खैरहनीको पर्सामा भएको भेलाले गठबन्धनमा सिट बाँडफाँड नहुँदै प्रतिनिधि सभाका लागि वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनाललाई सर्वसम्मत चयन गरेको हो ।
भेलाले प्रतिनिधि सभाको समानुपाति सांसदमा चण्डिका ढकाल, हेमन्त सेढाई र उदयचन्द्र अर्यालको नाम प्रस्ताव गरेको एकीकृत समाजवादी चितवनका सचिव कुलप्रसाद लामिछानेले बताए । समाजवादी पनि केन्द्रीय गठबन्धनमा रहेकाले सिट बाँडफाँड नहुँदै हतारमा उम्मेदवार छनोट गरेको हो । अहिले नाम सिफारिस गरे पनि गठबन्धनको बाँडफाँड नभई उम्मेदवार बन्ने सम्भावना छैन । समाजवादीले चितवन क्षेत्र नम्वर १ आफूले पाउनु पर्ने दाबी गर्दै आएको छ ।
चितवन १ मा प्रदेश सांसदका लागि भने आकांक्षी धेरै देखिएका छन् । प्रदेश १ क बाट कुवेरसिंह लामा, हेमन्त कडेंल, बाबुराम पाठक, वालकृष्ण लोहनी र वुद्धिमाया श्रेष्ठको नाम सिफारिस गरिएको छ । प्रदेश १ ख बाट भने आकांक्षी १२ जना देखिएका छन् । जसमा अहिलेका सांसद कृष्ण खनालसहित रहेका छन् । प्रदेश सांसदका लागि केपी लामिछाने, शुसिला लामिछाने, सकुन्तला अधिकारी, विष्णु भण्डारी कट्टेल, अर्जुन ढकाल, राजेन्द्र हमाल, निर्मला खड्का, विष्णुप्रसाद लम्साल, दुर्गादत्त अर्याल, हिराबहादुर गुरुङ र पार्वती घिमिरेको नाम सिफारिस गरिएको छ । सिफारिस नामलाई जिल्ला कमिटीले माथिल्लो कमिटीमा सिफारिस गर्नेछ ।
अर्काेतिर एमालेको तर्फबाट पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले पनि चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा उम्मेदवार बन्न नेता तथा कार्यकर्तासँगको भेटघाटलाई तीव्रता दिएका छन् । पार्टीले उम्मेदवारको छनोट नगरेको भए पनि एमाले उपाध्यक्षसमेत रहेका पाण्डे राजधानी छाडेर निर्वाचन क्षेत्रमा नै नागरिकहरुसँग अन्तरक्रियामा छन् ।


























