Breaking News
नवलपरासीमा भन्सार छलेको १ सय १८ क्विन्टल चिनी बरामद

परासी,असार २५-
पश्चिम नवलपरासीमा भारतबाट भन्सार छलेर ल्याउँदै गरेको १ सय १८ क्विन्टल चिनी बरामद भएको छ । केही दिनयता भारतबाट अवैधरुपमा चिनी आयात गरेर बिक्री वितरण हुँदै आएको जनगुनासो बढेपछि प्रशासन चनाखो भएको थियो । चौतर्फी विरोध भएपछि जिल्लास्थित सुरक्षा निकायको संयुक्त गस्ती टोलीले जिल्लाको प्रतापपुर गाउँपालिका ५ धर्मौलीबाट ठूलो मात्रामा चिनी बरामद गरेको हो ।
बरामद गरेको चिनीको बजार मूल्य ७ लाख ८ हजार मूल्यबराबरको रहेको सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गणका सूचना अधिकारी रोशन घिमिरेले बताए । बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय चलान गरिएको छ ।
यसअघि पश्चिम नवलपरासीको सिमावर्ती नाकाबाट नेपाल भित्रिएको चिनी पूर्वीनवलपरासी प्रहरीले एक महिनामा ४७ क्विन्टल बरामद गरेपछि पश्चिम नवलपरासीको सुरक्षा निकायलाई स्थानीयले गुनासो गरेका थिए । यसअघि भारततर्फ हरियो केराउ तस्करी हुने गरेकोमा भारत र नेपालमा मूल्यबराबर भएपछि तस्करले भारतबाट नेपालतर्फ चिनी तस्करी गर्न थालेका हुन् । भारतमा भन्दा नेपालमा प्रतिकिलो १५ रुपैयाँ चिनी महँगो भएपछि चिनी तस्करी बढेको हो ।























