स्वास्थ्य

के हो समाजिक सञ्जालमा भाइरल भएको नाइरोबी फ्लाई ? किराले कसरी संक्रमण गराउन सक्छ ?

Banner

चितवन,असार २३-

धनगढीका ओम साउदलाई ३ दिनअघि दाहिने हातमा जनै खटिरजस्तो लक्षण देखियो । माकुराले छेरेको भन्ठानेर आफैँ निको हुन्छ भनेर उनले त्यति ध्यान दिएनन् तर पछि निकै पोल्ने र दुख्ने भएपछि उनले घरमै घरेलु उपचारका लागि घ्युकुमारी लगाए । अहिले घाउ सुक्दै गएको छ ।

त्यस्तै झापाका सौरभ भट्टराईलाई एक दिन हात‚ गाला, ढाडमा रातो डाबरजस्तो देखियो । धेरै चिलाएपछि कन्याउँदा एलर्जी अरु ठाउँमा फैलियो । उनले अघिल्लो दिन झुल नलगाई सुतेका कारण किराले टोकेको हुन सक्ने बताए । अहिले उनको हातमा भने घाउ सुक्दै गएको छ ।‘मैले केही उपचार गराएको छैन । अहिले समाजिक सञ्जालमा फोटो हेर्दा नाइरोबी फ्लाई रहेछ भन्ने थाहा भयो । हाम्रो घर छेउको फार्मेसीमा बुझ्दा दैनिक १५ जनासम्म यस्तो समस्या लिएर आइरहेका छन्,’ उनले भने।

काठमाडौँका ४५ वर्षीय एक पुरुष एक हप्ताअघि निजामती कर्मचारी अस्पतालमा पानी फोका र रातो धर्का भएको एलर्जी लिएर आएपछि चिकित्सकले उनलाई नाइरोबी फ्लाई भएको पुष्टि गरेका थिए ।

के हो नाइरोबी फ्लाई ? कसरी संक्रमण गराउन सक्छः

अस्पतालका छालारोग विशेषज्ञ डा‍‍‍. प्रज्वल पुडासैनीका अनुसार नाइरोबी फ्लाई भनेको बिटल्स प्रजातीको किटाणु (किरा) हो । विश्वभर बिटल्सका ३ लाख ५० हजारभन्दा बढी प्रजाति छन्‚ तीमध्येको यो एक हो । कालो र सुन्तले रंगको देखिने यो किरालाई ‘केन्यन फ्लाइज’ वा ‘ड्र्यागन बग’ पनि भनिन्छ । यसलाई ‘पेडेरस डर्माटाइटिस’ पनि भनिन्छ ।

यो किराले गराउने एलर्जी हरेक वर्षाको समयमा देखिने गरेको चिकित्सकहरू बताउँछन् । डा‌‍. पुडासैनी भन्छन्‚ ‘यो किराले टोक्दैन । यदि यो किरा केही गरी माडियो भने यसबाट निस्किने टक्सिनले विभिन्न लक्षणहरू देखाउन थाल्छ । लक्षणहरू १२ घण्टादेखि २ दिनसम्म आइसक्छन् । यसको एलर्जी निको हुन १ देखि २ हप्ता लाग्छ र आफैं निको भएर जान्छ । तर‚ धेरै चिलाएमा भने यसले अरुतिर संक्रमण गराउन सक्छ ।कन्याउँदा दाग र खत बस्न सक्छ ।’

किराको टोकाइले नभएर किरा माड्दा त्यसले उत्पादन गर्ने ‘पेड्रिन’ भन्ने टक्सिनले लक्षणहरू देखिने हुन्छ । सामाजिक सञ्जालमा अहिले यो किराको बारेमा विभिन्न पोस्ट भाइरल भइरहेको छ । साथै सिक्किमलगायत पूर्वी नेपाल तथा भारतसँग सीमा जोडिएका जिल्लाहरुमा यो देखिएको छ । धनगढीको माया मेट्रो अस्पतालका अध्यक्ष धीरेन्द्र साउदले दुई जना नाइरोबी फ्लाईको लक्षण लिएको बिरामी सम्पर्कमा आएको बताए ।‘त्यस्तै खालका लक्षणहरु उनीहरूमा पनि पाइयो तर जटिल पाइएन,’उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>