खेलकुद

भरतपुरमा मेयर कप राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु, सात प्रदेशका ३०० खेलाडी सहभागी

Banner

चितवन, असार १३-

भरतपुरमा दोस्रो मेयर कप राष्ट्रिय तेक्वान्दो प्रतियोगिता–२०७९ सुरु भएको छ ।

आज उद्घाटन भएको प्रतियोगितामा सात वटै प्रदेशका करिब ३०० खेलाडी सहभागी भएका आयोजक राष्ट्रिय तेक्वान्दो संघ चितवनले जनाएको छ ।

दुई दिनसम्म चल्ने प्रतियोगितामा महिला र पुरुषको छुट्टाछुट्टै ग्योरीकी (फाइट) र पुम्सेमा प्रतिस्पर्धा हुने राष्ट्रिय तेक्वान्दो संघ चितवनका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा पुरुषतर्फ ग्योरीकीमा ३५ केजीदेखि ७४ केजी तौल समूहसम्म तथा महिलातर्फ ३० केजीदेखि ६३ केजी तौल समूहसम्म प्रतिस्पर्धा हुने श्रेष्ठले बताए । पुम्सेमा भने ब्ल्याकबेल्ट सेकेण्ड डनसम्मका खेलाडीहरुको प्रदर्शन रहने श्रेष्ठको भनाइ छ ।

प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी जम्मा १८ वटा फाइट तथा पुम्सेमा जुनियर र सिनियर गरी चार वटा प्रतिस्पर्धा हुनेछ । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विजेताहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने श्रेष्ठले बताए ।

यसैबीच, प्रतियोगिताको उद्घाटन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरलाई खेलकुदको हब बनाउने उद्देश्यसहित विभिन्न पूर्वाधार बनाउने कार्य भइरहेको बताइन् । एक वडा एक खेल मैदान, एक विद्यालय एक खेल मैदान, नगरस्तरीय खेल मैदान, प्रदेशस्तरीय खेलमैदान तथा अन्तर्राष्ट्रिय खेलमैदान निर्माण भइरहेको पनि मेयर दाहालले बताइन् । सो अवसरमा नगरप्रमुख दाहालले खेल क्षेत्रको विकास गर्न महानगरपालिका लागिपरेको बताइन् । खेल क्षेत्रको विकासले देशको नाम उच्च राख्न मद्दत पुग्ने उनको भनाइ थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>