राजनीति
ओली फेरि सत्तामा आउन सक्छन्ः सभापति देउवा

काठमाडौं,बैशाख २१-
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली फेरि सत्तामा आउन सक्ने बताउनुभएको छ । बुधबार विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै सभापति देउवाले गठबन्धनमा मत नहाले ओली फेरि सत्तामा आउने बताउनुभएको हो ।
त्यस्तै, उहाँले ओलीका गलत कदम रोक्न गठबन्धनका पक्षमा मत हाल्न मतदातालाई आग्रह गर्नुभयो । देउवाले स्थानीय तह निर्वाचनका लागि गरिएको चुनावी गठबन्धनलाई धोका नदिन कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
सभापति देउवाले प्रधानमन्त्री भएको नभइ प्रतिगमनलाई रोक्न प्रधानमन्त्री भएको बताउँदै उहाँले गठबन्धन पनि त्यही आवश्यकताअनुसार बनेको दाबी गर्नुभयो । अहिले कांग्रेस पार्टीको टाउकोमा ठूलो जिम्मेवारी रहेको भन्दै देउवाले कसैको पनि एकल बहुमत नभएकाले कसै न कसैसँग मिल्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।
६५ वर्षमाथिका नागरिकलाई मासिक पाँच हजार भत्ता दिने योजना सरकारले बनाएको प्रधानमन्त्री देउवाले बताउनुभयो ।


























