Breaking News

मौलाकालिका पुगेर मुख्यमन्त्रीले भनेः गण्डकीलाई धार्मिक प्रदेश बनाउँछौँ

Banner

नवलपुर,फागुन ११-

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशलाई धार्मिक प्रदेश बनाउने गरी काम सुरु गरिएको बताउनुभएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको मौलाकालिका मन्दिरमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री पोखरेलले धार्मिक पर्यटकबाटै गण्डकीमा समृद्धि ल्याउन सकिने भएकाले धार्मिक प्रदेश बनाउन लागिएको बताउनुभयो ।

“धार्मिक पर्यटकीय क्षेत्र हाम्रा लागि महत्वपूर्ण छ”, मुख्यमन्त्री पोखरेलले भन्नुभयो, “हाम्रो प्रदेश चीन र भारतसँग जोडिन्छ, त्यहाँबाट आउने पर्यटकलाई हामीले गण्डकी प्रदेशको धार्मिक क्षेत्रमा मात्रै ल्याउन सकेको खण्डमा पनि हाम्रो प्रदेश समृद्ध बन्छ ।”

दक्षिणबाट आउने पर्यटकलाई त्रिवेणीधाम (गजेन्द्र मोक्षधाम) हुँदै दाउन्ने देवीमन्दिर, कैलाश सन्न्यास आश्रम, मौलाकालिका, देवघाटधाम हुँदै मुक्तिनाथसम्म पुग्ने गरी धार्मिक मार्ग निर्माणको काम भइरहेको पोखरेलले बताउनुभयो । “हामीले दक्षिणका पर्यटकलाई हाम्रो धार्मिक स्थानको भ्रमण गर्ने अवस्था मात्रै सिर्जना गर्न सकेको अवस्थामा पनि समृद्धि ल्याउन मेहनत गर्नुपर्दैन”, पोखरेलले भन्नुभयो, “पोखरालाई केन्द्रविन्दु मानेर प्रदेशलाई अगाडि बढाउने गरी तयारी गरिरहेका छौँ ।”

देशकै केन्द्रभागमा रहेको मौलाकालिकाको ठूलो महत्व रहेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले धार्मिक पर्यटक आउँदामात्रै खासै अर्थ नराख्ने भए पनि उनीहरुलाई यहाँ एक रात बिताउने वातावरण सिर्जना गर्नसक्नुपर्ने बताउनुभयो । “पर्यटक आएर मौलाकालिका मन्दिरसँगै देवघाट घुमेपछि उनीहरुलाई यहाँ बस्ने वातावरण बनाउनुपर्छ”, पोखरेलले भन्नुभयो, “उनीहरु एक रात मात्रै बसेको अवस्थामा पनि गैँडाकोटका अन्य धार्मिक क्षेत्र घुम्दा आर्थिक क्रियाकलापमा समेत वृद्धि हुन्छ ।” यहाँ घुम्न आउने धार्मिक पर्यटकलाई केही दिन बस्ने वातावरण बनाउनुपर्नेमा पोखरेलले जोड दिनुभयो ।

प्रदेश सरकारको बजेटले मात्रै सबै काम गर्न नसकिने उल्लेख गर्दै उहाँले ठूला योजनाका लागि सङ्घीय सरकारसमक्ष पनि प्रस्ताव राख्नुपर्ने बताउनुभयो । “हामीले केन्द्रमा कुरा पु¥याउन सक्यौँ भने १०÷२० करोड ठूलो कुरा होइन तर हाम्रा लागि एक करोड पनि ठूलो हो”, मुख्यमन्त्री पोखरेलले भन्नुभयो, “ठूला योजनाका लागि केन्द्रमा पनि प्रस्ताव गरौँ, नभए प्रदेश सरकार त छँदैछ ।” यो सरकारले बजेटलाई कार्यान्वयन गर्नेबाहेक अरु काम गर्न नसकेको उहाँले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>