Breaking News

दुम्कीवास-त्रिवेणी सडकले नवलपुरको आर्थिक विकासको ढोका खोल्छः मुख्यमन्त्री पोखरेल

Banner

नवलपुर,फागुन ६-

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दुम्कीवास त्रिवेणी सडकखण्ड खुलेसँगै नवलपुर मात्र नभई समग्र गण्डकी प्रदेशकै आर्थिक विकासको ढोका खोल्ने बताउनुभयो। शुक्रबार विनयी त्रिवेणी गाउँपालिकामा आयोजित कार्यक्रममा उहाँले प्रदेश सरकार स्थापनादेखि नै मार्ग खोल्न प्रयास भए पनि अहिले प्रक्रिया अगाडि बढेको बताउनुभयो। डीपीआरको काम अब सुरु भइहाल्ने भन्दै निकुन्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले युनेस्कोले पनि छिट्टै यसको निकास दिने विश्वास व्यक्त गर्नुभयो।

गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको त्रिवेणी कोरला सडकको त्रिवेणी दुम्कीवास खण्ड १९ किलोमिटरमध्ये ८ किलोमिटर खण्ड चितवन राष्ट्रिय निकुन्जको केही भाग र मध्यवर्ती क्षेत्र पर्ने भएकाले काम अगाडि बढ्न सकेको थिएन। चितवन राष्ट्रिय निकुन्ज विश्व सम्पदा सूचीमा सूचीकृत भएकाले त्यहाँ विकासको कामका लागि युनेस्कोको स्वीकृत लिनुपर्ने हुन्छ।

मुख्यमन्त्री पोखरेलले दुम्कीबासदेखि त्रिवेणी जोड्न बाटोको लागि रकमको कुनै अभाव नहुने पनि बताउनुभयो। मुख्यमन्त्रीसहित अर्थमन्त्री रामजीप्रसाद बराल जीवन, प्रमुख सचिव रवीलाल पन्थ, अर्थ सचिव बैकुन्ठ अर्यालसहितको टोलीले दुम्कीवास त्रिवेणी खण्डको बाटो अवलोकन गर्नुभयो।

टोलीमा प्रदेशसभा सदस्य विष्णु लामिछाने, ओमकला गौतम, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमाल, मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोला सहभागी रहनु भएको थियो। अवलोकनपछि गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा पालिका अध्यक्ष डम्बरबहादुर जिसीले उत्तरमा पाल्पादेखि दक्षिणमा भारतको नाकासम्म फैलिएको विनयी त्रिवेणी गाउँपालिका विकासमा प्रदेश सरकारले विशेष ध्यान दिन आग्रह गर्नुभयो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>