Breaking News

शिक्षा क्षेत्रले कोरोनासँग लड्ने हो, कोरोनाकै बीचबाट प्रगति गर्ने होः शिक्षाविद् सापकोटा

Banner

छिमेकी राष्ट्र चीनको बुहानबाट विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण नेपालमा २०७६ पुस १७ गते प्रवेश ग¥यो । यसको नकारात्मक प्रभाव हरेक क्षेत्रमा परेको छ । जसको सबैभन्दा मारमा शिक्षा क्षेत्र परेको छ । नेपालमा पटकपटक शिक्षण संस्थाहरु खुल्ने र बन्द हुने गरेकोले शैक्षिक क्षेत्र राम्रोसँग सञ्चालन हुन सकेका छैनन् । विद्यार्थीको वर्षभरको अध्ययनका बाबजुद शैक्षिक शत्र बारम्बार सरिँरहदा र चलिरहेको परीक्षा रोकिँदा विद्यार्थीको भविष्यमा असर गरिरहेको छ । यसै सन्दर्भमा शिक्षा मन्त्रालयका पूर्वसल्लाहकार, सप्तगण्डकी बहुमुखी क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष, सेवानिवृत्त शिक्षक, अमेरिकन पिसकोरका प्रशिक्षक तथा शिक्षाविद् रमाकान्त सापकोटासँग नारायणी अनलाइनकी प्रतिमा कुमालले कोरोना महामारीले शिक्षा क्षेत्रमा पारेको असरका बारेमा कुराकानी गरेकी छन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंश:

कोरोना भाइरस (कोभिड–१९) संक्रमणले गर्दा विद्यालय परीक्षा रोकिने र सर्ने भइरहेको छ । यसले विद्यार्थीको भविष्यमा कस्तो असर गर्ला ?

कोरोना साम्य होला र हाम्रो पठनपाठन अगाडि लैजाउँला भन्ने कुरा रोक्नुपर्छ । अब कोरोनासँगै लड्ने हो, सतर्क हुने हो, बाच्ने हो र कोरोना कै बीचबाट हामीले प्रगति गर्ने हो भने विद्यार्थीको भविष्यमा कुनै असर पर्दैन ।

कोरोनाले शिक्षा क्षेत्रमा नकारात्मक असर मात्र पारेको हो त ?

जब–जब अप्ठ्यारोको सामना गर्छ मानिसले त्यसले अर्को क्षमताको विकास गर्छ । यो दुई वर्षको समयमा अनलाइन मार्फत भर्चुअल बैठक भए । अन्तर्राष्ट्रिय सभा सेमिनार पनि अनलाइन हुन थाले । यसलाई कोरोनाले ल्याएको अवसरको रुपमा लिनुपर्छ । अर्को सरसफाई पनि रहेको छ । सूचना प्रविधिको अथाहा विकास यही समयमा भएको छ । त्यसको प्रयोगमा मानिसलाई अथाहा चुनौती थियो । त्यसको बाबजुद अवसर र अभ्यास पनि गरायो । जीवनशैलीमा धेरै ठूलो परिवर्तन ल्याएको छ । अप्ठ्याराहरुलाई सामना गर्ने सिप सिकाएको छ । एकले अर्कोलाई मनोपरामर्श दिनुपर्ने रहेछ भन्ने सोचको विकास गरेको छ । योग ध्यान जस्ता ज्ञानको पुनरावृति गराएको छ । धन सम्पती र भौतिक संसार मात्रै ठूलो कुरो होइन रै छ हैँ भन्ने चेतना ल्यायो । सर्टीफिकेट शिक्षा पढ्नुमात्रै ठूलो कुरा रहेनछ । जीवन उपयोगी शिक्षा पनि रहेछ भन्ने चेतना दियो । साथै अभिभावकले सन्तानको चाहाना बुझ्न सके । बच्चालाई आफ्नो निर्णय मात्र लाद्नु हुन्न भन्ने अभिभावकमा ज्ञान आयो । बच्चालाई आफै निर्णय गर्न दिनुपर्छ भन्ने जस्ता सोचको विकास कोरोनाको कहरकै बीच आएको हो ।

पठनपाठनमा प्रविधिको प्रयोग भएको छ । यसको दुरुपयोग त हुने होइन ?

हाम्रो पढाउने सिस्टमले विद्यार्थीहरुलाई पाठ्यपुस्ताको कोर्स सक्ने परीक्षा दिने अनि रिल्याक्स गर्ने र नेट इन्टरनेटसँग खेल्ने बनाएको छ । जसले गर्दा पढ्ने बालबालिकाहरु दिन प्रतिदिन गलत ट्रयाकबाट अगाडि गइरहेका छन् । यसलाई फेरि सच्चाउनका लागि सूचना प्रविधिले बिगारेको बच्चाहरुलाई सूचना प्रविधि कै माध्यमबाट सच्चाउन सकिने वातावरण छन् । मेरो अमेरिका भ्रमणको अनुभवमा आफन्तको घरमा म बसेँ त्यहाँ उनीहरुको विद्यालय अध्ययन गर्ने बच्चा थियो । त्यहाँ रहँदा सो बच्चाले कम्प्युटरमा काम गरिरहेको देखे । स्कुलले सो कम्प्युटर विद्यार्थीलाई दिदो रहेछ । त्यो कम्प्युटरको सिस्टम नै यस्तो थियो जुन बेलुका ९ बजेबाट बिहान ६ बजेसम्म नखुल्ने । स्कुललाई र विद्यार्थीलाई पढ्न र पढाउन चाहिने बाहेक अरु वेभसाइट नखुल्ने । स्कुलले कम्प्युटर कम्पनी र गुगलसँग छलफल गरी सो कम्प्युटर विद्यार्थीको लागि बनाएको रहेछ । अभिभावकले चिन्ता नै लिन नपर्ने । सिस्टमले नै नियन्त्रण गरेको छ । दुरुपयोग हुनबाट जोगाउन यस्तो पनि त हुँदो रहेछ । यो सूचना प्रविधि संसारभर तीव्ररुपमा स्थान्तरण गर्न सकिन्छ । मलाई लाग्छ यसरी सरकारले व्यवस्थापन गर्ने हो भने सूचना प्रविधि मार्फत नै सूचना प्रयोग गर्ने बच्चाहरुलाई नियन्त्रण गर्न सकिन्छ । तर, हाम्रोमा शिक्षा निःशुल्क छैन । यस्ता प्रविधि प्रयोग कसले प्रयोगमा ल्याउन सक्ने । अर्को कुरा नेपालमा निजी स्कुलमा पठनपाठन राम्रो हुन्छ भन्ने छ । तर, विश्वको पुँजीवादी राष्ट्र चीन, जापान, अमेरिका जस्ता मुलुकमा यस्तो छैन । शिक्षा, स्वास्थ्य जस्ता मानिसका आधारभूत आवश्यकतामा बजारीकरण नेपालको शिक्षा प्रणालीको मुख्य समस्या हो ।

पानी, बिजुली, शिक्षा स्वास्थ्य जस्ता मानिसका आधारभूत आवश्यकतामा बजारीकरण भएपछि जति मूल्य भए पनि मानिसले बाध्य भएर उपयोग गर्नुप¥यो । अनि मान्छे त कहिले माथि उठ्ने । हाम्रो राज्य हामीले अपेक्षा गरे अनुसारको बन्न सकेन । शिक्षा, स्वास्थ्य, रोजगारी राज्यको जिम्मा हो । समाजवाद उन्मुख राज्य भन्ने आधारभूत आवश्यकतामा सबै जनताको पहुँच सुनिश्चित नगरी के गरेर समाजवाद आउने होला ?

हाम्रो राज्य जिम्मेवार छैन् ?

जति जिम्मेवार हुनु पर्ने त्यति जिम्मेवार छैन । खाली जाल झेल सत्ता मोह एक अर्काको टिकडम र सत्तामा जाने अनि नारा दिने काममा मात्रै राज्य अल्झिएको छ । राज्यलाई जिम्मेवार बनाउने पार्टीहरु र पार्टी सिस्टम पनी राम्रो छैन । संविधानमा लेखेर, संरचना बनाएर मात्र पनि राम्रो सिस्टम नहुदो रहेछ । यो कारणले गर्दा समाजमा धेरै बेथिति छन् । अब यो बेथितिको मात्रै प्रचार गरेर स्थिति राम्रो त हुदैन । हाम्रा सम्भावनाहरु पनि प्रसस्त छन् । राज्यलाई ठीक ठाउँमा ल्याउन दबाब दिन हाम्रा सचेतकहरुले तर्कपूर्ण ढङ्गले मन्त्री र नीति निर्माण हुने ठाउँमा हस्तक्षेप गर्न सक्नुपर्छ । सडक तताउने होइन तर्क गर्न जरुरी छ ।

शिक्षाको प्रणालीमा परिवर्तनको कुरालाई लिएर शिक्षाविद्हरुले कुरा उठाइरहेका छन् राज्यले चाहि किन सुनिरहेको छैन त त्यो कुरा ?

परामर्श दिन सक्छौँ यो नै निर्णय गर्न भन्न सक्दैनाँै । समय अनुरुप हरेक कुरा परिवर्तनशिल हुनुपर्छ । राज्यसत्ता, अर्थशास्त्रको नियम, स्वास्थ्य सिस्टम समय अनुकुल परिवर्तशिल छ । शिक्षा पनि परिवर्तनशिल हो । त्यसकारण शिक्षामा पनि परिवर्तन जरुरी छ । तर, अहिलेको परिवर्तन के हो त ? ज्ञान सिपलाई सूचना प्रविधिसँग जोडेर सिकाउने कि अहिलेको आवश्यकताको आधारमा सिकाउने । परिवर्तन काम कहाँ भयो त ? भन्दा हिजो शिक्षकहरुले पढाएर आउने कुरा मात्र थियो । हिजो बाबु आमाले भनेकै विषय पढ्नु पर्छ । त्यही स्कुल पढ्नुपर्छ भन्ने थियो । अहिले यो कुराको निर्णय गर्न बालबालिकालाई दिऊ हैँ । बाबुआमाले निर्णय नगर । बच्चाहरुको ध्यान केन्द्रित रुचि अनुसार गर । १२ कक्षा पास गरेपछि कुन विषय पढ्ने कुन कलेज पढ्ने भन्ने विषयको परामर्श शिक्षकले पनि दिएको हुन्छ । सम्बन्धित विद्यालयले दिएको हुन्छ । अभिभावकले दिन्छन् । मिडिया माफत्ले पनि दिएको हुन्छ । तर, निर्णय गर्नको लागि उसँग प्रसस्त ज्ञान सूचना अनुभवहरु हुनु प¥यो । अनुभव नभएका कारणले गर्दा निर्णय गर्न सक्दैन । तपाइले डिप्लोमा गरेपछि के विषयमा डिग्री गर्ने ? देश भित्र पढ्ने वा विदेश ? विदेश जादा वा देश भित्रै पढ्दा आउने चुनौती के हुन् ? वीरेन्द्र वा सप्तगण्डकी कलेज पढ्दा हुने फरक के हो ? लागतको हिसाबले कुनमा सस्तो कुनमा महंगो । तपाइँले लगानी गर्न सक्ने क्षमता कति ? यी सबै छलफल गर्ने सूचना वा अनुभव छैन भने तपाइँसंँग बसेर मैले छलफल गरे भने र तपाइँलाई यो विकल्पहरु हुन सक्छन् भनेर विकल्प देखाइदियो भने त्यो परामर्श हो ।

तर, हामीले तपाइँले यही गर्नुहोस् भनेर आदेश दियौँ भने, मेरो यसो गर्ने विचार थियो । यस्तो गरेको भए हुने रहेछ । सापकोटा सरले मलाई यसरी दबाब दिनु भयो र म यो बाटोमा बिग्रिए भन्ने तपाइँको भित्र मनमा बिजी रहन्छ । तर, मलाई बुवा–आमा, सापकोटा सर लगायत सबैले सूचना दिनुभएको हो । तर, निर्णय मैले गरेको हुँ । र, त्यो निर्णयको स्वामित्व तपाइँले लिएको हो भने गल्तीबाट आफैले सिक्नु हुन्छ । तपाइँले अर्कोलाई दोष दिनु हुन्न । त्रुटि गर्दै जादा मैले आइन्दा यसो गर्नु पर्ने रहेछ भन्ने कुरा सिक्नु हुन्छ । यसको अर्थ गल्ती पनि गुरु हो । त्यसकारण बच्चालाई (सरकारलाई) आमा—बुबा, गुरुहरुले आफै निर्णय गर्न दिनुपर्छ । यस्ता कुरा समाजले विस्तारै सिक्न थालेको समेत छ ।

कोरोनाका कहरबीच परीक्षा हुन नसक्दा विद्यालयले आन्तरिक मूल्याङ्कनबाट विद्यार्थीलाई उतीर्ण बनायो । नतिजा प्रति विद्यार्थीको गुनासो छ । समाधान के होला ?

यसको जवाफदेहिता शिक्षक र विद्यालयहरु नै हुनुपर्छ । र, यहाँ शिक्षाको व्यापार भएको छ । हाम्रा विद्यालयका यति जनाले (ए पलस) ल्याए भन्दा अन्य आकर्षित हुन्छन् । व्यपार बढ्छ । अब कमाई हुन्छ भन्ने कुराहरु छन् । तर, प्राप्त गरेको त्यो सर्टिफिकेट र मार्कसिटले धेरै काम गरेन । परीक्षामा राम्रा प्रतिशत ल्याएका विद्यार्थीले कतै राम्रो विषयमा प्रवेश पाएनन् । प्रवेश परीक्षामा अनुतीर्ण भए । प्रमाणपत्रले जीवन चल्दैन । उदाहरण– ‘कुनै पनि सवारीसाधन चलाउन सिप क्षमता चाहिन्छ, लाइन्सेस भएर मात्र हुँदैन । प्रमाणपत्र पनि त्यही हो । दरखास्त गर्नका लागि प्रमाण हो तर, सिप पुष्टी गर्ने प्रमाण होइन ।’ र, मौखिक प्रश्न, लिखित प्रश्न, प्रयोगात्मक प्रश्नका परीक्षा बेग्लाबेग्लै हुन्छन् । सबै प्रश्नमा बेग्ला बेग्लै क्षमता चाहिन्छन् । तर, यो शैक्षिक सत्र खेर नजाओस् र अर्को कक्षामा पढ्ने अवसर होस् भन्नका लागि यो आन्तरिक मूल्याङ्कनबाट सजिलोसँग तिमीलाई अर्को माथिल्लो कक्षामा पढ्ने मौका दिइएको हो । अहिले नसिकेका कुरा विद्यार्थीले परीक्षा सकिएपछि सिक्नु पर्छ । जस्ता सिकाइ उपलब्धिका करा शिक्षा पद्धतिका निकायलाई थाहा हुनु पर्छ । परीक्षा मात्र लिएर हँुदैन । साथै पहिला जस्तो छोराछोरीले यती नम्बर ल्याए भनेर गर्ब गर्नुपर्ने दिनहरु पनि सकिएका छन् । र, आमाबुबाले प्रमाणपत्र मात्र ज्ञान होइन भन्ने कुरा बच्चाहरुलाई बुझाउनु पर्छ ।

शिक्षा क्षेत्रमा तपाइँले देख्नुभएको समस्या के के छन् ?

समस्याको सूची बनाउने हो भने धेरै छन् ।

१) विद्यालय शिक्षामा २०७३ सालमा राजतन्त्रबाट गणतन्त्र आयो नेपालमा पुरानै शिक्षा ऐनले अहिलेसम्म काम गरिरहेको छ ।
२) अनिवार्य निःशुल्क शिक्षा भन्ने एउटा छुट्टै ऐन बने पनि समग्र शिक्षा ऐन बनेकै छैन ।
३) आधारभूत शिक्षा विश्वमै सरकारको दायित्व हुन्छ । त्यो मातृभाषामा हुन्छ । अंग्रेजी, गणित, विज्ञान बाहेक सामाजिक, नैतिक शिक्षा जस्ता विषयहरु मातृ भाषामा हुन्छ । आधारभूत शिक्षा सरकारले जिम्मा लिन सकेन ।
४) शिक्षा भनेकै अंग्रेजी बोल्न जान्नु भयो । अभिभावक, विद्यालय सञ्चालक, विद्यार्थीलाई पनि त्यही भयो । अंग्रेजीको दोकान खोल्ने काम भयो । अंग्रेजी व्यपार भयो । आधारभूत शिक्षानै अंग्रेजीकरण भयो । सरकारले शिक्षा क्षेत्र बजारलाई दियो ।
५) प्राविधिक, मेडिसिन शिक्षा पहुँचवालाको मात्रै भयो ।
६) पैसाले सिक्ने कि रुचि र क्षमताले सिक्ने ।

बच्चाको क्षमता र रुचि नभए पनि मसँग धेरै पैसा छ । तिमीले चिकित्सक शिक्षा पढ्नै पर्छ । बच्चाको मनो सामाजिक, रुचि, सिकाइ वातावरणसँग भन्दा पनि पैसा धेरै खर्च गरेपछि पाउँछ भन्ने अभिभावकमा प्रभाव परेको छ । त्यसकारण अभिभावकलाई पनि शिक्षा चाहियो । अभिभावकको शिक्षा प्रर्याप्त हुन सकेन ।

७) विज्ञान प्रविधि हाम्रो कमजोर भयो ।

प्राविधिक शिक्षाको हल्ला मात्र भयो । व्यवसायिक शिक्षा तालिम दिएर वा लिएर दक्ष गराउन सकिन्छ । तर, प्राविधिक शिक्षा एकेडेमिक शिक्षा हो । त्यहाँ साइन्स पढेकै विद्यार्थी हुनुपर्छ । बेसिक साइन्स पढ्नै पर्छ । १२ कक्षासम्म सबै विद्यार्थीले साइन्स पढेको छ भने मात्रै त्यो प्राविधिक धारमा जान सक्छ । हाम्रो कहाँ १२ देखि १५ प्रतिशत भन्दा बढ्ता विद्यार्थीले साइन्स पढ्दैन्न । सरकार र पार्टी आफ्ना घोषणपत्रमा ७० प्रतिशत विद्यार्थीलाई प्राविधिक शिक्षा पढाइन्छ भन्छन् । १२ प्रतिशत विद्यार्थीले साइन्स पढेर ७० प्रतिशतमा जान कसरी सक्छन ?

८) शिक्षामा अति राजनीतिकरण
— शिक्षक पेसामा राम्रो खोज्ने कि हाम्रो खोज्ने प्रश्न बहसको विषय छ । स्कुल कलेजमा विद्यार्थीहरु पार्टीको भातृ संगठन बलियो बनाउन काम गर्ने कि शिक्षा राम्रो बनाउन काम गर्ने भन्ने प्रश्न छ ।

९) शिक्षाको नीतिमा स्थिरता भएन ।
एउटा शिक्षा मन्त्रीले बनाएको नीति त्यो मन्त्रीको नीति भयो राज्यको भएन । मन्त्री पिछेको नीति बने । त्यसकारण शिक्षाको नीति बनेन बनेको कार्यान्वयन् भएन ।

विद्यार्थीहरुले नेपाल मै बसेर भविष्य बनाउन सक्छन त ?

अहिले ५०–६० लाख भन्दा बढी नेपाली विदेशमा रहेका छन् । धेरै जस्तो युवापुस्ताका मानिसहरु विद्यार्थी भिजामा जान्छन् । तर, ती विद्यार्थीहरु कानुनीरुपमा मात्रै विद्यार्थी हुन् । बास्तवमा उनीहरुले त्यहाँ अध्ययन गरिरहेका छैनन् । विद्यार्थी भयो भने विदेशमा बाच्न सकिँदैन । कमाएर विद्यार्थी हुन सकिँदैन । कमाउने जीविका गर्ने, अलि–अलि स्कुलमा भर्ना भइरहने, ६ देखि ७ वर्ष लगाएर मुस्किलले पास गर्ने हो । उनीहरु एकेडेमिक आधारमा काम गर्दैनन् । प्रोफेशन बाहेकका काम गर्छन् ।

यस्तोमा ज्ञानको क्षेत्र फराकिलो बनाउन पनि धेरै गएका छन् । स्टिम एजुकेसन (साइन्स, टेक्नोलोजी, इन्जीनियरिङ) पढ्न जाने पनि छन् । जुन विश्वमा एकदमै शक्तिशाली पढाई पनि बन्दै गएको छ । उनीहरुको लागि त्यहाँ राम्रो रोजगारीको अवसर पनि छ । मैले देखे अनुसार चीनमा एउटा शिक्षक वा शिक्षिकाले महिनामा नेपाली तीन लाख तलब खान्छ । नेपालमा आएर शिक्षा पेसामा लाग्दा त्यस्तो छैन । यस्तोमा कसरी फिर्ता हुन्छन् शिक्षित नेपाली विदेशबाट ? राज्यले उनीहरुलाई वातावरण निर्माण गरिदिनुपर्छ । त्यहाँको आधा मात्रै कमाइ हुने हो भने पनि बाबा–आमा परिवारलाई लथालिङ्ग पारेर बस्न कसैलाई रहर लाग्दैन । यसको लागि प्रसस्त बहस भएका छन् । उच्च प्रविधिसँग राम्रोसँग अभ्यस्त भएका ज्ञान सिप अनुसन्धनात्मक क्षमता भएका जनशक्तिलाई नफर्काउदासम्म नेपालको विकास हुँदैन । अहिले चमत्कारी विकास भइरहेको बेलामा जनशक्ति नै पुग्दैन । र, त्यो जनशिक्ति मात्रै आवश्यक पर्ने होइन जागरिलो जनशक्ति पनि चाहिन्छ । खाडी मुलुकमा गएका नेपालीहरुलाई नि फर्काउनु पर्छ ।
शिक्षकहरुबाट पनि थोरै पढेर विदेश जान पाहिने अभ्यास हुन थालेको छ । अभिभावकहरुलाई पनि छोराछोरी विदेश पठाउन पाए के–के हुन्थ्यो भन्ने छ । तर, आजभन्दा २० वर्ष अगाडि छोराछोरी अमेरिका छ, जापान छ, अस्ट्रेलिया छ भन्दा अभिभावकलाई जुन गौरब थियो त्यो अहिले छैन । यसले समाजमा थुप्रै विकृति ल्यायो । धेरै पविारमा विखण्डन भए । श्रीमान् श्रीमती दुई तिर हुँदा कति परिवार बिग्रियो । आमाबुबा र छोराछोरी अलग हुँदा सम्पन्न परिवारकै वृद्धहरु बृद्ध आश्रममा छन् । यो कुरा बुझदै बुझाउँदै जाने हो भने विदेश जाने क्रम कम हुन्छ । तर, उनीहरुलाई फर्काउनका लागि राज्यमा सोर्सफोर्स पहुँच नभए पनि यो मुलुकमा प्रतिस्पर्धाका आधारमा जागिर पाहिन्छ भन्ने विश्वास हुनु पर्छ । पढ्यो राम्रो योज्ञता प्राप्त ग¥यो कुन पार्टीमा प्रवेश ग¥यो भने कुन नेताको पछाडि प¥यो भने जागिर खान पाहिन्छ भन्ने स्थितिमा कसरी भविष्य देख्ने मान्छेले । नेपालीको छोराछोरीले विदेशमा जादा कसैको सोर्सफोर्स लगाउनु पर्दैन । आफ्नो खुसी र क्षमताले जागिर खान्छ । मसँग भएको क्षमताले विदेशमा सजिलैसँग जागिर पाउछु ।
नेपालमा पढेर सिकेर मात्र हुदैन पहुँच खोज्नु पर्छ । जागिरको लागि पार्टीमा प्रवेश गर्नुपर्छ । यस्तो अवस्थामा कसरी युवा पुस्तालाई देश भित्र थाम्न सक्छौँ । कसरी बाहिरकालाई भित्र ल्याउन सक्छौँ । यो एकदमै बिडम्बनाको कुरा हो । यसको उत्तर राज्यसँग हुनुपर्छ । राज्य सञ्चालन गर्ने पार्टीसँग हुनुपर्छ ।

धन्यवाद ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>