देश/प्रदेश
काभ्रेपलाञ्चोकको तेमाल क्षेत्रका ५५ हजार स्थानीयवासीलाई घरघरमा स्वच्छ खानेपानी

काभ्रे,पुस २५-
आउँदो चैत महिनाभित्र काभ्रेपलाञ्चोकको तेमाल क्षेत्रका ५५ हजार स्थानीयवासीलाई घरघरमा स्वच्छ खानेपानी पुर्याइने भएको छ । गत मङ्सिरमा खानेपानी आयोजनाको काम सक्ने लक्ष्य लिइए पनि कोरोना र प्राकृतिक प्रकोप खेप्नुपर्दा उपभोक्ताको घर–घरमा खानेपानी उपलब्ध गराउन नसकिएको हो ।
तेमाल वृहत खानेपानी आयोजना कोरोनाको पहिलो र दोस्रो लहरका साथै गत साउनमा सुनकोशी नदीमा आएको बाढीले मुहान क्षेत्रमा क्षति पुर्याउँदा करिब एक वर्ष पछि धकेलिएको हो । उपभोक्ता समितिले अबको तीन महिनापछि घर–घरमा खानेपानी पुर्याउने गरी आयोजनाको मर्मत लगायतका काम भइरहको जनाएको छ ।
“आउँदो चैतभित्र खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ काम भइरहेको छ” समितिका अध्यक्ष सङ्ग्रामजित लामाले भने। उनका अनुसार आयोजनाको काम करिब अन्तिम चरणमा पुगेको छ । आयोजनाको ९८ प्रतिशत काम सकिएको जनाइएको छ । हाल मुहानलाई थप सुरक्षित गरी पुरानै अवस्थामा फर्काएर पानी प्रशोधनको काम भइरहेको लामाले बताए । उनका अनुसार १२ ट्याङ्कीमा पानी परीक्षण भइसकेको छ भने थप ११ ट्याङ्कीमा परीक्षणको काम भइरहेको छ । साथै, प्रशोधन केन्द्रदेखि वितरण ट्याङ्की सम्मको पाइपमा समेत पानी परीक्षण भइसकेको जनाइएको छ ।
लामाका अनुसार उक्त आयोजनाबाट तेमाल क्षेत्रका ५५ हजार स्थानीयवासीलाई खानेपानी उपलब्ध हुनेछ । लिफ्टिङ प्रविधिबाट यो खानेपानी आयोजना सञ्चालन गरिने छ । यसको मुहान सुनकोशी नदी किनारमा छ । यो वर्षको पहिलो बाढीले तेमाल खानेपानीको मुहान रहेको स्थान तेमाल गाउँपालिका–२ र ३ को सिमाना सुनकोशी नदी किनार चुखाबेँसीमा कटान सुरु गरेको थियो ।रासस
























