देश/प्रदेश

पत्रकार खिलध्वज थापाको कृति ‘एक पत्रकारको बकपत्र’ सार्वजनिकीकरण

Banner

काठमाडौँ, पुस २४-

राष्ट्रिय समाचार समिति (रासस) का पूर्वप्रधानसम्पादक एवं वरिष्ठ पत्रकार खिलध्वज थापाको कृति ‘एक पत्रकारको बकपत्र’ सार्वजनिकीकरण गरिएको छ ।

श्रीमती सावित्रा श्रीश प्रकाशक रहनुभएको उक्त पुस्तकको वरिष्ठ पत्रकार भैरव रिसालले आज यहाँ आयोजित एक कार्यक्रममा विमोचन गर्नुभएको हो ।

पत्रकारिताको यात्रामा भोगेका घटना, गरिएको अनुभवलगायत विषयवस्तु समेटिएका उक्त पुस्तक सरल भाषामा प्रस्तुत गरिएको छ । पुस्तकमा पेरिसमा एकान्तबास, काश्मीरदेखि कन्याकुमारीसम्म, कारवाँ नियाल्दै लाङ्टाङ हिमालमा एक रात, घुमघाम राजारानीसँग, एक पत्रकारको आँखामा राजनीति, पुरानो ऐनामा आफूलाई नियाल्दालगायतका शीर्षकमा विविध विषयवस्तु समेटिएका छन् ।

कार्यक्रममा वरिष्ठ पत्रकार रिसालले नेपाली वाङ्मयमा ‘एक पत्रकारको बकपत्र’ एउटा खदिलो सम्पत्तिका रुपमा थपिएको बताउनुभयो । राजनीतिज्ञ एमएस थापाले तत्कालीन अवस्था र व्यवस्थाका विषयमा एउटा अनुभवी पत्रकारद्वारा लेखिएको पुस्तक इतिहासका सँगालोका रुपमा पाठकका लागि पठनीय र सङ्ग्रहनीय सामाग्री रहने उल्लेख गर्नुभयो ।

वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले पुस्तक अध्ययनका क्रममा कथा, उपन्यास, निवन्धजस्तो अनुभूति भए पनि तथ्यगत र सिर्जनशील विषयवस्तु समेटिएको खदिलो नियात्राकारुपमा रहेको बताउनुभयो ।

राससका पूर्वमहाप्रबन्धक श्रीरामसिंह बस्नेतले लेखकीय इमान्दारी प्रष्ट रहेको र सरल भाषामा पत्रकारिता यात्रामा भोगेका अनुभवको संगालोका रुपमा लेखिएको पुस्तकमा समेटिएका विषयवस्तु विनाआग्रह पूर्वाग्रहपूर्वक प्रस्तुत भएको धारणा व्यक्त गर्नुभयो ।

लेखक नरु थापाले जोखिम अवस्थामा रही समाजमा उज्यालो छर्नका लागि गरिने विधा भएकाले पत्रकारिताप्रतिको दृष्टिकोण समाजमा सम्मानजनक रहेको विचार व्यक्त गर्नुभयो । अधिकारकर्मी सुशाङ्क गुरुङले पुस्तकमा राजनीति, इतिहास रमाइला घटना, साहित्यकारसँगको सङ्गतिका घटनाले पाठकका आकाङ्क्षालाई तृप्त तुल्याउने विश्वास दिलाउनुभयो ।

लेखक खेम कोइरालाले पत्रकारिताका अतिरिक्त अन्य विधाको विशिष्ट पहिचान भएको कृति उपन्यास शैलीमा रहेको बताउनुभयो । पुस्तकका सर्जक थापाले आफ्नो जीवनकाल र पत्रकारिता यात्रामा भोगेका विषयवस्तु समेटेर लेखिएको पुस्तकमा तत्कालीन समयको घटनाक्रम र विषयवस्तु समेटिएको बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>