देश/प्रदेश

वसन्तपुरको ऐतिहासिक सम्पदाको चित्र प्रदर्शन हुने

Banner

काठमाडौँ, पुस २४-

विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका ऐतिहासिक सम्पदाको चित्रकला प्रदर्शनी हुने भएको छ ।

सर्वसाधारणलाई कलाप्रति आकर्षित गर्ने उद्देश्यले आगामी माघ ९ गतेदेखि सो प्रदर्शनी गर्न लागिएको हो । हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिको आयोजनामा यही पुस पहिलो सातादेखि २५ जना वरिष्ठ कलाकारकाले कोरेका वसन्तपुर क्षेत्रका ऐतिहासिक सम्पदाको चित्रलाई नै प्रदर्शनीमा राख्न लागिएको बताइएको छ । हनुमानढोका दरबारस्थित गद्दी बैठकमा आगामी माघ ९ गतेदेखि एक महिनासम्म प्रदर्शनी सञ्चालन हुनेछ ।

शनिबारीय कला कार्यशाला समूहको सहकार्यमा भएको ‘क्यानभासमा हनुमान ढोका प्रतिविम्ब’ चित्रकला कार्यशालामा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कूलपति कान्छाकुमार कर्माचार्य, प्रतिष्ठानका पूर्वकूलपति किरण मानन्धर, वरिष्ठ कलाकार ग्रेहेन्द्रमान अमात्य, गोविन्दसिंह डङ्गोल, जीवन राजोपाध्यायसहित कलाकार सहभागी रहनुभएको थियो ।

कलाकारले उक्त स्थानका मुख्यगरी मूलचोक, त्रिशूल चोक, मोहन चोक र जलाशय नारायणको चित्र बनाएका छन् । शनिबारीय समूह चार वर्षदेखि प्रत्येक शनिबार ऐतिहासिक सम्पदाको चित्र बनाउनमा व्यस्त रहने गरेको स्थलगत कार्यशालाका संयोजक दिवेसमानसिंह प्रधानले जानकारी दिनुभयो ।

हरेक शनिबार सम्पदाको चित्र बनाउनकै लागि शनिबारीय कला कार्यशाला समूह काठमाडौँ उपत्यकाको तीनवटै जिल्ला र कहीलेकाहीँ उपत्यका बाहिरका जिल्लामा पनि जाने गरेको उहाँको भनाइ छ । विगत चार वर्षदेखि अहिलेसम्ममा सम्पदाको मात्रै दुई हजारभन्दा बढी चित्र उतारिसकेको संयोजक प्रधानले बताउनुभयो ।

“चित्र बनाउने विषयवस्तु धेरै छन्, अझै पनि युवापुस्तामा चित्रकलाप्रति आकर्षण कम छ, त्यसमा पनि ऐतिहासिक सम्पदा प्राथमिकतामा पर्दैनन्, त्यसैले सम्पदाकै चित्र बनाउने र त्यसलाई प्रदर्शनीमा राख्न थालिएको हो”, उहाँले भन्नुभयो ।

कार्यशाला समूहले अहिलेसम्म काठमाडौँ उपत्यकामा रहेका विश्वसम्पदा सूचीमा सूचीकृत सात सम्पदामध्ये पाँच वटाको चित्र बनाइसकेको छ । पशुपतिनाथको चित्र कोर्ने तयारी छ । उक्त स्थानमा २५ कलाकारले करिब ५० चित्र बनाएका छन् । चित्र कोरेबापत उक्त समूहले कुनै पारिश्रमिक लिने छैनन् । चित्र बनाउनका लागि आवश्यक पर्ने सामग्री समितिले प्रदान गरेको हो । तयार पारिएका चित्र सङ्ग्रहालयमा राख्ने बताइएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>