देश/प्रदेश

प्रतिनिधिसभा बन्धक बनाउनु भनेको संविधान कार्यान्वयनमा अवरुद्ध गर्नु हो: उर्जामन्त्री भुसाल

Banner

काठमाडौँ, पुस २४-

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेकपा (एमाले) ले प्रतिनिधिसभा अवरुद्ध पार्दा जनताका पक्षमा ऐन- नियम बनाउन नसकिएको बताउनुभएको छ ।

ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको नवौँ गाउँसभालाई आज सम्बोधन गर्दै उहाँले विघटित प्रतिनिधिसभा पुनः स्थापित भए पनि बन्धक बनाउनु संविधान कार्यान्वयनलाई बन्धक बनाउनु हो भन्नुभयो ।

“जनताको सार्वभौम थलो प्रतिनिधिसभा हो, त्यहीँबाट जनताका लागि कानून-नियम बन्ने हो, आज त्यो ठप्प छ, त्यसैले प्रतिगमनको खतरा टरिसकेको छैन, यसप्रति सबै सचेत हुनुपर्छ”, मन्त्री भुसाालले भन्नुभयो । उहाँले संविधानले निर्दिष्ट गरेको सामाजिक न्यायमा आधारित समाजवाद निर्माणमा लागेको पनि जानकारी दिनुभयो ।

उहाँले खतरा टरिनसकेकाले प्रतिक्रान्तिको खतरा रहुञ्जेलसम्म गठबन्धन रहने र चुनावमात्रै होइन चुनाव पछि पनि निरन्तरता दिने सोचमा रहेको जानकारी दिनुभयो । उहाँले प्रतिनिधिसभा चलेको भए सङ्घीय निजामती ऐन, प्रदेश निजामती ऐन, स्थानीय सेवा ऐन बनिसक्ने जानकारी गराउँदै स्पष्ट नीति नियमको अभावमा प्रदेश र स्थानीय सरकारले प्रभावकारी काम गर्न नसकेको दावी गर्नुभयो । संसद् नचल्दा कानून बन्न नपाएको र कानून नबन्दा अधिकार बाँडफाँटको कुरासमेत अड्किएको उहाँले बताउनुभयो ।

सुरुमा पार्टीले उठाएको गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशिताको एजेण्डा राष्ट्रकै एजेण्डा बनेको स्मरण गर्दै उहाँले आर्थिक, सामाजिक रुपान्तरणतर्फ मुलुक अघि बढिकसकेको पनि बताउनुभयो । मन्त्री भुसालले २० युनिटभन्दा तल विद्युत् खपत गर्नै साढे २६ लाख घरका एक करोड ३० लाख जनतालाई निः शुल्क विद्युत् उपलब्ध गराएको पनि बताउनुभयो । अन्यको हकमा शुल्कसमेत घटाएको जानकारी दिँदै उहाँले सिँचाइको नीति अघि बढाएर ग्रामीण क्षेत्रका किसानको जीवनस्तर माथि उठाउने प्रयास थालिएको बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>