चितवन विशेष
माओवादी बागमती प्रदेशको कोषाध्यक्षमा चितवनकी संगीता निर्वाचित

चितवन, पुस ६–
नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश समितिको कोषाध्यक्षमा चितवनकी संगीता भट्टराई निर्वाचित भएकी छन् । लामो रस्साकस्सीबीच माओवादी केन्द्रले निर्वाचनको माध्यमबाट बागमती प्रदेश समितिको पदाधिकारी टुङ्गो लगाएको छ ।
गएराति सम्पन्न निर्वाचनबाट रत्ननगर निवासी भट्टराई फराकिलो मतान्तरले कोषाध्यक्षमा निर्वाचित भएकी हुन् । भट्टराईले सर्वाधिक १५३ मत प्राप्त गरिन् । उनका प्रतिस्पर्धीहरु तोत्रकुमारी अधिकारीले ५८ मत प्राप्त गरिन् भने विदुर खड्काले २४ मत मात्रै प्राप्त गरे ।
कोषाध्यक्षमा निर्वाचित भट्टराई चितवनमा महिला अधिकारकर्मीको रुपमा राम्रो छवी बनाएकी महिला नेतृ हुन् । उनी सहिद परिवारकी सदस्य समेत हुन् । उनका श्रीमानको द्धन्द्धकालमा निधन भएको थियो ।
यस्तै गएराति सम्पन्न निर्वाचनबाट माओवादीको बागमती प्रदेश समितिको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन् । उनले १६२ मत ल्याए । पौडेलको प्रतिस्पर्धी दीनानाथ गौतमले ८६ मत ल्याएको बागमती प्रदेश निर्वाचन समितिले जनाएको छ ।
यस्तै प्रदेश समितिको उपाध्यक्षमा रुपा महर्जन, रामप्रसाद ढुङ्गाना र प्रेमबहादुर पुलामी, सचिवमा इन्द्रबहादुर थिङ, सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ निर्वाचित हुनुभएको निर्वाचन प्रमुख सुन्दरराज रेग्मीले जानकारी दिए ।
























