Breaking News

राष्ट्र बैंककै नक्कली इजाजत बनाएको बैंकिङ संस्था ‘मेक्स मि’ : १८ सय चितवनबासीको ७ करोड जोखिममा

  • Logo
    app haru
  • २८ मंसिर २०७८, मंगलबार
Banner

हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, मंसिर २८ –
चितवनको भरतपुर महानगर– १० रिजालचोकमा अवैधरुपमा सञ्चालित मेक्स मि ई–कमर्स इन्टरनेशनलमा चितवनका १८ सय जनाले ७ करोड रुपैयाँ बचत गरेको खुलेको छ । ठगी गर्ने उद्देश्यले सञ्चालित उक्त ‘मेक्स मि’ मा बचत गर्नेहरुको रकम जोखिममा परेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीले जोखिममा परेको रकम फिर्ता गराउने गरी अनुसन्धान भइरहेको बताए ।

‘मेक्स मि’ले ठगी गरेको सूचना प्राप्त भएपछि चितवन प्रहरीले संस्थाका कार्यकारी निर्देशक पुष्पराज तिमिल्सिनालाई मंसिर ६ गते पक्राउ गरेको थियो । तिमिल्सिनाविरुद्ध ठगी सम्बन्धी अपराधको जाहेरी परेको छ ।

२७ वर्षीय तिमिल्सिना दैलेख आठबिस नगरपालिका–७ घर भई हाल भरतपुर महानगरपालिका ७ बस्दै आएका छन् । उनलाई पक्राउ गरेपछि उक्त संस्थाले अवैध रुपमा बैंकिङ कारोबार गर्दै आएको खुलेको छ । ‘मेक्स मि’ विगत एक वर्षदेखि सञ्चालित छ ।

नेपाल राष्ट्र बैंकबाट मान्यता (ईजाजत) प्राप्त रहेको भनी सर्वसाधारणलाई झुक्याउन सफल मेक्स मि ई–कमर्सले राम्रो व्याज दिने आर्थिक प्रलोभनमा पारेर निक्षेप संकलन र ऋण प्रवाह गर्दै आइरहेको थियो ।

प्रहरीका अनुसार तिमिल्सिना आफैले नेपाल राष्ट्र बैकको नक्कली ईजाजत पत्र तयार गरेको खुलेको छ । आफै छाप हानेर आफै दस्तखत गरी तिमिल्सिनाले राष्ट्र बैंकको नक्कली ईजाजत पत्र बनाएको खुलेको हो । तिमिल्सिनाले कार्यालयको बोर्ड र बचत पासबुकमा राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त भनेर लेखेका थिए भने एउटा नक्कली ईजाजत पत्र पनि तयार पारेर भित्तामा टाँसेका थिए । जसले गर्दा सर्वसाधारण संस्थाप्रति पूर्ण विश्वस्त थिए ।

अदालतबाट म्याद थप गरी उनी उपर ठगी मुद्दा र सरकारी छापदस्तखत किर्ते गरेको सम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाइएको एसपी अधिकारीले जानकारी दिए ।

‘मेक्स मि’ मा अन्य दुई जना पनि संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउँदै एसपी अधिकारीले उनीहरुलाई पनि तिमिल्सिनाले भ्रममा राखेर फँसाएको पाइएको जानकारी दिए ।

एक वर्षसम्म नक्कली ईजाजत बनाएर काम गरिरहँदा पनि सम्बन्धित निकायले भेउ नपाउनु दुखःद विषय हो । सरकारी निकायबाट अनुगमन फितलो हुँदा ठग गर्नेहरुले मौका पाइरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>