Breaking News

किसानका पीडा : एक दाना धान पनि भित्र्याउन पाइएन के खाएर बाँच्ने होला ?

Banner

भजनी, कात्तिक ४-
जानकी गाउँपालिका–८ का लालवीरे कामीले दसौको पछिल्लो दिन आठ कामदार लगाएर दुई बिघामा लगाएको धान कटाउनुभयो । प्रतिव्यक्ति रु ५०० का दरले उहाँले ज्याला व्यापत रु चार हजार तिर्नुप¥यो । उहाँले धान कटाए पनि भित्र्याउन भने पाउनुभएन ।

“गत वर्षको भन्दा धान राम्रो थियो । यस वर्ष उत्पादन राम्रो हुन्छ भन्ने अपेक्षा थियो”, उहाँले भन्नुभयो, “खेतमा लगाएको एक दाना धान पनि भित्र्याउन पाइएन । सबै बाढीले बगायो । अब के खुवाएर परिवार पाल्ने ? आफूले के खाने ?” टीकापुर नगरपालिका–३ शङ्करपुरका लक्ष्मण बस्यालले आकाशको पानी पर्दा थोरै भए पनि आशा जीवित रहेको जनाउँदै जमरा कुलोको बाढी खेतमा पसेपछि धानको एक मुठ्ठा पनि खेतमा नबचेको बताउनुभएको छ । उहाँले जमरा कुलोमा लगाइएको बाँधका कारण पनि शङ्करपुर क्षेत्र बढी डुबानमा परेको जनाउँदै सम्झँदा आँखा रसाउने गरेको गुनासो गर्नुहुन्छ । “वर्षभरि खाने धान पूरै बगाएर लगिसक्यो अब हामीले के खाने रु किनेर खानसक्ने क्षमता छैन । हामी दिनभरि मजदुरी गरेर खाने मान्छे त्यसमाथिको अहिलेको महङ्गाइमा”, उहाँले भन्नुभयो, “खेत रोप्दा लागेको ऋृण पनि तिर्न सकेको छैन । कसरी ऋृण तिर्ने कसरी परिवार पाल्ने ? अहिलेको समयले निकै चुनौती दिएर गएको छ ।”

टीकापुरकै आशिष जनालाले पनि दसैँको पछिल्लो दिन तीन बिघा क्षेत्रफलको धान कामदार लगाएरै काट्नुभयो । परिवारसँग दसैँको बेला रमाइलो गरेको उहाँका लागि अर्को दिनसम्म टिकेन । कोरोनाका कारण भारतमा मजदुरी गरेर परिवार पाल्ने उहाँ आफ्नै गाउँमा केही गर्नुपर्छ भनेर गाउँ फर्किएको बताउनुहुन्छ । उहाँले आफ्नो र आफ्ना अन्य परिवारको सबै जग्गामा खेती सुरु गरेको पहिलो वर्षमै समयले निकै ठूलो चुनौती दिएर गएको छ । “कोरोनाले परदेशबाट लखेट्यो । स्वदेशमा बदलिँदो मौसमले लखेट्दै छ”, उहाँले भन्नुभयो, “अब कता जाने ? कतै ठाउँ नै छैन । लागेको ऋण र परिवारलाई कसरी पाल्ने ? निकै अप्ठ्यारो मोडमा पुगिएको छ ।”

कर्णाली नदीले कटान गरेर बाढी गाउँमा पस्दा नगरपालिकाको सूर्यपुर, वसन्ता, बटनपुर, फाँटा, सत्ती, कर्मीडाँडा, सिमरेनी, अरुणाफाँटालगायतका गाउँमा बढी असर पारेको छ । सो क्षेत्रमा बढी मात्रामा खेती हुने गर्छ । केही वर्ष पहिले बाढीले निकै प्रभावित हुने सो क्षेत्रमा सात वर्षयता बाढी देख्नुपरेको थिएन । आकाशको पानी पर्दासम्म पराल नभए पनि धान बचाउन सकिन्छ कि भन्ने आशा किसानमा थियो । तर त्यो आशा पूर्णरूपमा निराशामा परिणत भयो । कर्णालीको उर्लँदो भेल खेतमा पसेपछि आफूहरु मुकदर्शक बन्नुबाहेक केही नभएको किसान सीताराम चौधरी बताउनुहुन्छ ।

“हामीले चाहेर रोक्न पनि नसकिने । पानीमा तैरिरहेको धानलाई सङ्कलन गर्न पनि नसकिने”, उहाँले भन्नुभयो, “एकाएक बाढी खेतमा पसेपछि पानीमा तैरेको धान कर्णालीमै मिसियो । अब चिन्ता बढ्न थालेको छ । के खाने ? परिवारलाई के खुवाउने र पशु चौपायालाई के खुवाएर पाल्ने?”

जग्गा भाडामा लिएर कुखुरा फार्म सञ्चालन गर्दै आउनुभएका लक्ष्मीप्रसाद अधिकारीको फार्ममा रहेका करिब ५०० कुखुरा बाढीले बगायो । आफ्नै देशमा केही गर्नुपर्छ भनेर लाग्नुभएका उहाँको सपना बाढीले पूरा हुन दिएन । “सँगैका साथीहरु विदेश जानुपर्छ भनेर सधैँ कर गर्थे । मैले आफ्नै देशमा केही गर्नुपर्छ भनेर सम्झाए पनि सबै साथीहरु विदेशमा राम्रो कमाउँदैछन् । आफूले ऋण जोहो गरेर जग्गा भाडामा लिएर फार्म सञ्चालन गरेँ त्यो पनि बाढीले बगायो”, उहाँले भन्नुभयो, “अब आफ्नो लगानी त टाढाको कुरा भयो जग्गा भाडा पनि कताबाट तिर्ने भन्ने चिन्ता छ ।”

टीकापुर र जानकी मात्रै हजारौँ बिघा क्षेत्रफलमा लगाइएको धानबाली पूर्णरूपमा नष्ट भएको छ । बाढी कटानले हुलाकी राजमार्गअन्तर्गत सत्ती नजिक झण्डै २०० मिटर बढी हुलाकी सडक कटान गरेको छ भने मोहना नदीमा निर्माण गरिएको तटबन्धसमेत भत्काएको छ । कर्णालीले पनि ठाउँठाउँमा तटबन्ध भत्काएर बाढी बस्तीमा पसेको हो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>