Breaking News
चितवन निकुञ्जभित्रको बाटो स्तरोन्नती गर्ने कार्य अघि बढ्यो, सकियो रुख गणना, दशैंअघि नै इआइए प्रतिवेदन बुझाइने

चितवन, साउन २५-
हुलाकी राजमार्ग अन्तर्गत पर्ने चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रको बाटो स्तरोन्नतीका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) गर्ने कार्य अगाडि बढेको छ । इआइएका लागी निकुञ्जभित्र रुखको छपान तथा नम्बरिङ (गणना) कार्य सकिएको छ। बाटोको बिचबाट दायाँबायाँ १५–१५ मिटर क्षेत्रमा पर्ने रुखहरु गणना गरिएको हो । उक्त क्षेत्रमा १९ सय ९६ वटा रुख गणना भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए । ‘अहिले नम्बरिङ मात्रै गर्ने काम भएको हो । इआइए बनेर ती रुखहरु काट्नुपर्ने भएमा मन्त्रीपरिषद्को बैठकले निर्णय गर्नुपर्नेछ’, उनले भने ।
भरतपुर–माडी जोड्ने यो बाटोका कारण माडीबासीले सास्ती भोग्दै आएका छन् । अब भने बाटो स्तरोन्नती हुने आशा पलाएको छ । चितवन क्षेत्र नं. ३ बाट निर्वाचित भएर कानुन मन्त्री बनेपछि गौतमले भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल र वनमन्त्री गीता चौधरीलाई स्थलगत अवलोकन गराएकी थिइन् । गौतमले बजेट र कानुनका कारण काम रोक्न नहुने स्पष्ट रुपमा बताएकी थिइन् भने मन्त्री लम्साल र चौधरीले पनि इआइएको काम तत्काल अगाडि बढाउन निर्देशन दिएका थिए । यस आयोजनाका परामर्शदाता प्रतिनिधि अनुसार, हुलाकी राजमार्ग निर्देशनालयको मातहतमा र निकुञ्ज कार्यालयको समन्वय तथा प्राविधिक सहयोगमा निकुञ्जभित्र काटिने रुखहरूको पहिचान र गणना गरिएको हो।
निकुञ्ज क्षेत्रभित्र केही समयअघि ध्रुवे हात्तीको आतङ्क र मानवीय क्षति भएपछि सुरक्षाका कारण करिब १५–२० दिन रुख गणनाको काम ठप्प भएको थियो। त्यसपछि असारको क्लोजिङ र वर्षायाम सुरु भएकाले काम केही समय रोकिएको परामर्शदाताले जानकारी दिएका छन्। रुख गणनाको काम सकिएपछि परामर्शदाता कम्पनीले वातावरण व्यवस्थापन योजना सहितको मस्यौदा प्रतिवेदन तयार पार्नेछ। प्रतिवेदन अन्तिम रूपमा बुझाउनुअघि भदौको पहिलो वा दोस्रो साताभित्र निकुञ्ज प्रतिनिधि, स्थानीय तह तथा सरोकारवालाहरूलाई राखेर सार्वजनिक सुनुवाइ गरिनेछ।
सार्वजनिक सुनुवाइमा आउने सुझाव र वातावरणमा पर्ने प्रभाव न्यूनीकरणका उपायहरूलाई प्रतिवेदनमा समावेश गरिनेछ। आगामी दशैंअघि नै इआइए प्रतिवेदन बुझाउने लक्ष्यका साथ काम भइरहेको परामर्शदाता पक्षले जनाएको छ। वन नियमावली अनुसार निकुञ्ज तथा वन कार्यालयबाट प्रमाणित भएर आएको रुख क्षतिको विवरणलाई नै अन्तिम इआइए प्रतिवेदनमा समावेश गरिनेछ।



























