मौसम
आजपनि देशका धेरै स्थानमा वर्षा हुने

काठमाडौं,कार्तिक ३-
मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) पनि गण्डकी तथा बागमती प्रदेशका केही क्षेत्र र प्रदेश १ का केही भू–भागमा हाँडीघोप्टे वर्षा हुन सक्ने जनाएको छ। मंगलबार दिउँसोसम्म सुदूरपश्चिम र प्रदेश १ मा पनि जनजीवन प्रभावित गर्ने गरी वर्षा भएको थियो। यी क्षेत्रमा बुधबारसम्म सोही प्रणाली रहने छ।
पश्चिममा बिहीबारबाट मौसम सुधार भए पनि वर्षाको सम्भावना यथावत् छ। महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार सुदूरपश्चिममा मंगलबार दिउँसो ३ बजेसम्म पनि भारी वर्षा भएको थियो।
शाक्यले भनिन्, ‘बुधबारसम्म मुलुकका धेरै स्थानमा वर्षा हुने र बिहीबारबाट मात्रै क्रमिक सुधार हुने देखिन्छ।’ जल तथा मौसम विज्ञान विभागका सिनियर डिभिजनल मेट्रोलोजिस्ट इन्दिरा कँडेलका अनुसार न्यून चापीय प्रणाली र पश्चिमी वायुको संयुतः प्रभावले ठूलो खालको वर्षा निम्त्याएको हो। अधिकांश घटना हेर्दा यी दुइटा सिस्टम मिसिएपछि अलि गम्भीर खालको वर्षा निम्त्याउने गरेको बताइन्।
केही दिन पहिला मौसम बाहिरिएको समाचारहरू प्रकाशित भएपछि किसानहरूले धान धमाधम काटेका थिए। तर, धान भित्राउन नपाउँदै अत्यधिक वर्षा भएपछि मौसमविद्हरूको आलोचना भएको थियो।

























