देश/प्रदेश

जनगणना : गाउँ पुगेका सुपरीवेक्षकलाई फोन र इन्टरनेटको समस्या

Banner

बलेवा, भदौ ३ –

राष्ट्रिय जनगणना–२०७८ अन्तर्गत सुपरीवेक्षक गाउँगाउँमा पुगेका छन् । घरमुली र एउटै भान्छामा खाना खानेको प्रारम्भिक विवरण लिन गाउँ पुगेका उनीहरुलाई एकातर्फ बाढी र पहिराको त्रास छ भने अर्कोतर्फ सङ्कलित विवरण अद्यावधिक गर्न कठिन भएको छ ।

घरमुली सूचीकरणका लागि जिल्लाभरि ९६ सुपरीवेक्षक परिचालन गरिएको छ । स्थानीय वडास्तरबाटै छनोट भएका सुपरीवेक्षक भए पनि बाढीपहिरो र असजिलो सडकले समस्या रहेको जिल्ला तथ्याङ्क ९जनगणना० कार्यालयका प्रमुख मुकुन्द शर्माले जानकारी दिनुभयो । गत भदौ ३० देखि सुरुआत भएको सूचीकरणको काम यही असोज १८ गतेसम्म सञ्चालन हुनेछ ।

घर, परिवार लगायतको तथ्याङ्क तयार गरेर पूर्ण विवरणका लागि तयारी भए पनि सङ्कलित विवरण अध्यावधि गर्न सुपरीवेक्षकलाई टेलिफोन र इन्टरनेट अनियमित हुँदा समस्या भएको उहाँले बताउनुभयो । “तीन दिनमा एकैपटक तथ्याङ्क अद्यावधिक गर्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “सदरमुकामै अवरोध भइरहने फोन र नेट दुरदराजमा के होला कुरै नगरौँ ।”

भौगोलिक विकटता र इन्टरनेटको समस्याले तथ्याङ्क सङ्कलन र अध्यावधिक गर्न समस्या भएको हो । “गणनाका लागि एउटा एप छ सोही एपमा अनलाइन नभए पनि प्रविष्ट हुन्छ”,उहाँ भन्नुभयो, “हामीले तथ्याङ्क पाउन भने सङ्कलन भएको समयभन्दा निकै धेरै समय कुर्नुपर्छ ।”

जिल्लामा रहेका नेपाल टेलिकममा कतिपय बिटिएस टावरमा जडान भएको सौर्यऊर्जा सञ्चित हुन नपाउँदा बेलाबेलामा समस्या हुने गरेको छ भने कतिपय विद्युत् पुगेका टावरमा समेत विद्युत्मा आउने समस्याका कारणले पनि बेलाबेलामा समस्या आउने गरेको टेलिकमले जनाएको छ ।

विसं २०६८ को जनगणनाअनुसार जिल्लाको जनसङ्ख्या दुई लाख ६८ हजार ६१३ रहेको छ । पहिलो चरणमा सङ्कलन गरिएको तथ्याङ्कका आधारमा मूल गणना गरिनेछ । मूल गणना आगामी कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन हुनेछ । प्रत्येक १०-१० वर्षमा जनगणना गरिन्छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>