गण्डकी

पोखराको सेदीदेखि सराङकोट जोड्ने अन्नपूर्ण केबुलकार दशैंमै शुरु हुने

Banner

पोखरा,असोज ३-

कोरोना महामारीका कारण निर्माणमा केही ढिलाइ भएको अन्नपूर्ण केबुलकार सञ्चालन तयारीमा पुगेको छ । लकडाउन र निषेधाज्ञाका कारण समयमै काम हुन नसकेपनि अब भने सञ्चालन हुने गरी सम्पूर्ण तयारी पूरा भएको कम्पनीको भनाइ छ । कम्पनीका महाप्रबन्धक दिनेश पौडेलले अब ५ देखि १० प्रतिशत मात्रै काम बाँकी भएको र दशैं र तिहारमै सञ्चालन गर्ने गरी काम अगाडि बढाइएको बताए । ‘सञ्चालन पहिले नै भइसक्नुपर्ने थियो, तर कोरोना महामारीका कारण समय केही ढिला भएको छ,’ उनले भने, ‘जापानबाट प्राविधिक आएपछि सञ्चालन हुन्छ ।’

केबुलकार सञ्चालनका लागि जापानबाट आउनुपर्ने प्राविधिकहरु जापानमा लकडाउन भएका कारणले आउन पाएका छैनन् । उनीहरु आएर १० देखि १५ दिनभित्र बाँकी काम सकाएपछि परीक्षण शुरु गरिने पौडेलले जानकारी दिए । उनका अनुसार भौतिक पूर्वाधारको सम्पूर्ण काम सकिएको छ । अब प्राविधिक पक्षको केही काम बाँकी छ । जापानमा लकडाउन थप नलम्बिए प्राविधिकहरु सेप्टेम्बर महिनाभित्रै नेपाल आइपुग्नेछन् र बाँकी काम सकिनेछ ।

फेवातारको किनारादेखि सराङकोटसम्म पुग्ने केबुलकार २ हजार २७५ मिटर लम्बाइको हुनेछ । जसमा १३ वटा टावर रहनेछन् भने १८ वटा गोण्डुलाले यात्रु ओसारपसार गर्नेछन् । महाप्रबन्धक पौडेलका अनुसार २ किलोमिटरको दूरी पार गर्नका लागि ८ मिनेटको समय लाग्नेछ । एउटा गोण्डुलामा बढीमा ९ जनाका हिसाबले १४४ जनाले एकैसाथ यात्रा गर्न सक्नेछन् ।

केबुलकार सञ्चालन भएपछि विशेष गरी पोखराबाट सराङकोटमा सूर्योदय हेर्न जानेका लागि सहज हुनेछ । त्यसका लागि केबुलकार विहान ५ बजेदेखि नै सञ्चालन गरिने गरी योजना कम्पनीको छ । सराङकोटबाट अन्नपूर्ण हिमालको रेञ्ज र माछापुछ्रे हिमालसँगै फेवातालको मनोरम दृश्यावलोकन समेत गर्न सकिनेछ ।

केबुलकारमा यात्रा गर्दा हिमाल, ताल, हरियाली वन जंगल तथा पोखराको सुन्दर दृश्य देख्न सकिन्छ । कम्पनीले पूर्ण क्षमतामा सञ्चालन गर्दा दैनिक १५ सय मानिसलाई सेवा दिन सक्नेछ । कम्पनीले भविष्यमा ३५ वटासम्म गोण्डुला सञ्चालन गर्न सक्ने योजना बनाएको छ । कम्पनीले सेदीदेखि सराङकोटसम्ममा बीच बाटोमा तार मुनी पर्ने राइट अफ वेमा पर्ने जग्गा अहिले स्थानीयसँग खरिद गरिसकेको छ । शुरुमा कम्पनीले उक्त जग्गाधनीलाई सेयरधनी बनाउने निर्णय गरेको थियो ।

हाल कम्पनीमा २० प्रतिशत लगानी स्थानीयबासी, १५ प्रतिशत जापानी लगानीकर्ता र बाँकी ६५ प्रतिशत लगानी कालु गुरुङ र उनको समूहको लगानी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>