राजनीति
पुर्व गृहमन्त्री रामबहादुर थापाका भाई नरेश थापा जेलमुक्त

काठमाडौं,भदौं ७-
आपराधिक लाभ र संगठित अपराध मुद्धामा जेल सजाय पाएका नरेशकुमार थापा सोमबार रिहाई भएका छन्। उच्च अदालत पाटनले उनलाई २०७६ माघ २७ मा १ वर्ष ६ महिना थुनामा राख्न आदेश दिएको थियो। कारागार कार्यालय डिल्लीबजारका प्रमुख बसन्त पुरीका अनुसार अदालतले तोकेको सजाय आइतबार पुरा भएको थियो। यसलगत्तै पुर्व गृहमन्त्री रामबहादुर थापाका भाई सोमबार रिहा भएका हुन्।
उनले निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा दोषी ठहरिएका समिरमान बस्नेतसंग मिलेर आपराधिक क्रियाकलाप गरेको, चन्दा असुली गरेको आरोप लागेको थियो। जिल्ला अदालत काठमाडौंका न्यायाधीश मेदीनीप्रसाद पौडेलको इजलाशले इजलाशले मागेको १ लाख धरौटी बुझाएर उनी २०७६ असोज १ मा छुटेका थिए।
उच्च अदालतको आदेशसँगै थापा पुनः पक्राउ परेका थिए। उनीमाथि सुन्धारा जेलमा रहेका बस्नेतसँग मिलेर ठेकेदारलाई धम्की दिने गिरोह सञ्चालन गरेको आरोप लागेको थियो। आपराधिक लाभ र संगठित अपराध मुद्दामा जिल्ला अदालतको फैसला बदर गर्दै उच्च अदालत पाटनका न्यायधीशद्धय नहकुल सुवेदी र श्रीमणकुमार गौतमको इजलाशले थुनामा राख्न आदेश दिएको थियो।
























