Breaking News

चितवनमा एक महिनामा कोरोनाका गम्भीर बिरामी दोब्बर, जथाभावी औषधि सेवन नगर्न सल्लाह

Banner

मधुसूदन दवाडी

चितवन, साउन ३१

चितवनमा एक महिनामा कोरोनाका गम्भीर बिरामी दोब्बर बढेका छन् ।

स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांकलाई विश्लेषण गर्दा साउनको २ गते भेन्टिलेटरमा कोरोनाका बिरामी १४ जना रहेकोमा आज आइतबार यो संख्या २८ पुगेको छ । चिकित्सकीय परिभाषामा भेन्टिलेटरको बिरामीलाई गम्भीर बिरामीको रुपमा लिने गरिन्छ । भरतपुर अस्पतालले पनि एक सूचना जारी गर्दै अस्पतालमा अक्सिजन आवश्यक पर्ने बिरामीको संख्या अत्यधिक बढेकोले उपचारमा कठिनाई भएको जनाएको छ ।

साउनको २ गते चितवनका अस्पतालहरुमा जम्मा कोरोनाका बिरामीहरुको संख्या १८२ जना थियो । जसमध्ये एचडीयूमा ३० जना र आईसीयूमा ६२ जना रहेका थिए । अहिले चितवनका सबै अस्पतालहरुमा कोरोनाका बिरामीको संख्या २३० जना पुगेको छ । जसमा जेनरल बेडमा ९१ जना, एचडीयूमा ४७ जना, जेनरल बेडमा ९१ जना, आईसीयूमा ९२ जना र भेन्टिलेटरमा २८ जना रहेका छन् । दैनिक कोरोना संक्रमणको दर निरन्तर बढ्दै गएर चितवनमा अहिले सक्रिय संक्रमितको संख्या दुई हजार पाँच सय बढी पुगेको छ ।

भरतपुर अस्पतालको कोभिड कोअर्डिनेटर डाक्टर प्रमोद पौडेलले तेस्रो लहर नै नभए पनि चितवनमा संक्रमितको संख्या बढ्दै गएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ यो लहर घट्दै गएर शून्यमा पुगेपछि फेरि बढ्न थाल्यो भने तेस्रो लहर हो । अघिल्लो वर्ष लक्षणविहीन कोरोना संक्रमित धेरै आउने भए पनि यसपटक कोरोनाको लक्षणसहितका गम्भीर बिरामीको संख्या बढेको छ । खोपको दुवै डोज लगाउने संक्रमित भए पनि जटिल अवस्था आएर मृत्यु हुने अवस्था भने छैन । पहिलो लहरमा वृद्धवृद्धा धेरै संक्रमित भए पनि यसपटक युवाहरुमा संक्रमण बढी देखिएको छ ।’

चितवनमा अहिले कोरोना र भाइरल इन्फ्ल्युन्जाको संक्रमण दुवै एकैसाथ फैलिएकोले चिकित्सकदेखि आम सर्वसाधारण समस्यामा पर्ने गरेका छन् । दुवै संक्रमणको लक्षण एउटै हो । ज्वरो र रुघा लाग्दैमा चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक खाइ हाल्ने बानी झनै खतरनायक भएको चिकित्सकहरु बताउँछन् ।

डा पौडेलले कोरोना वा भाइरलको ज्वरो आउँदा चिकित्सकको सल्लाहबिना ऐन्टिबायोटिक खान नहुने बताए । उनले भने, ‘ जथाभावी औषधि सेवन गर्ने बिरामी बढेका छन् । ब्याक्टेरियाको लागि एन्टिबायोटिकले काम गर्ने भए पनि भाइरसको लागि गर्दैन । सुरुमै ऐन्टिबायोटिकको प्रयोगले शरीरको प्रतिरक्षा झनै कमजोर बन्न सक्छ ।’
त्यसैगरी भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा नारायणबहादुर थापाले परिवारको सदस्य संक्रमित भएको कारणले बालबालिकामा कोरोना संक्रमण फाट्टफुट्ट देखिएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ ज्वरोको लक्षण देखिँदैमा हतारमा एन्टिबायोटिक प्रयोग गर्न हुँदैन । सामान्य ज्वरोको औषधि चलाएर मात्र ज्वरो नियन्त्रणमा नआएपछि अवस्था हेरेर एन्टिबायोटिक चलाउनुपर्छ ।’ उनले बालबालिकाहरु धेरै कम मात्र कोरोनाको अवस्थाले गम्भीर स्वास्थ्य समस्या देखिएको जानकारी दिए । स्वास्थ्य कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार चितवनमा चार वर्षसम्मका २५० बालबालिका कोरोना संक्रमित भएका छन् । अहिलेसम्म चितवनमा १० वर्षसम्मको एक जनाको कोरोनाको कारणले निधन भएको छ । चितवनमा यस वर्ष कोरोनाको कारणले मृत्यु भएका ६१६ जना मध्ये चितवन जिल्लाकै २४८ र बाहिर जिल्लाका ३६८ जना रहेको स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>