कृषि

किसानलाई प्रेरित गर्न गाउँपालिकाद्वारा ड्रागन खेती

Banner

वालिङ, २८ साउन
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले ड्रागन फ्रुट खेतीका लागि किसानलाई प्रेरित गरेको छ । गाउँपालिका–४ को पुछार भन्ने ठाउँमा स्थानीयवासीको २४ रोपनी जग्गा १५ वर्षका लागि भाडामा लिएर सो फ्रुट लगाइएको अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो ।

“सिँचाइका लागि पर्याप्त पानी नचाहिने, यहाँको हावापानी, र माटो सुहाउँदो खेती भएकाले नमूनाका रूपमा खेती गरेका हौँ” अध्यक्ष थापाले भन्नुभयो, “सुरुको चरणमा स्थानीय किसान, कृषक समूह र सहकारीलाई यो खेतीका लागि प्रोत्साहन गर्ने नीति लियौँ, तर यहाँका लागि नयाँ भएकाले खासै रुचि नदेखाएपछि गाउँपालिकाले नै सुरुवात गरेको हो ।”

गत वर्ष तीन हजार बिरुवा लगाइएकामा यस वर्ष एक हजार ८०० बिरुवा थप गरी कूल चार हजार ८०० बिरुवा लगाइएको छ । “अध्ययनअनुसार सुक्खा ठाउँ, पानी थोरै भए पनि हुने र यहाँको हावापानी तथा माटोअनुसार यस्तो खेतीको सम्भावना बढी देखियो”, अध्यक्ष थापाले भन्नुभयो, “यसको व्यावसायिक उत्पादन यहाँ सम्भव छ भन्ने देखाएर किसानलाई प्रेरित गर्नका लागि पनि गाउँपालिका आफैँले प्रारम्भ गरेको हो ।”

अहिले गाउँपालिकाले इच्छुक किसान, कृषक समूह तथा सहकारीलाई बिरुवामा ५० प्रतिशत अनुदान र पोलमा शतप्रतिशत अनुदानसहित आवश्यक प्राविधिक तालिम तथा सहयोग उपलब्ध गराउँदै आएकाले किसान यसप्रति आकर्षित भएका छन् । गाउँपालिकाले बिरुवा उत्पादन गरी किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गर्दै छ । पचासभन्दा धेरै बिरुवा लगाउने किसान, समूहलाई ५० प्रतिशत अनुदान तथा पोल निःशुल्क उपलब्ध गराइएको छ । यो खेती विस्तारका लागि गाउँपालिकाले हालसम्म रु ८५ लाख लगानी गरिसकेको छ ।

ठूला–ठूला समथर बारीका पाटा भएर पनि सिँचाइको अभाव भएकाले लिफ्टिङ गरी पानी तानेर सिँचाइको व्यवस्था मिलाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले बताउनुभयो ।विस्तारै किसान यस खेतीतर्फ आकर्षित हुँदै गएकाले यहाँको किसान, समूह सहकारीका लागि आम्दानीको स्रोत बन्न सक्ने उहाँले जानकारी दिनुभयो ।

किसान, समूह तथा सहकारीले उत्पादन गरेका बिरुवा तथा फलको विक्रीको व्यवस्था गाउँपालिकाले ने गरिदिने भएको छ । यहाँको गहना तथा नमूनाका रूपमा यो खेती विस्तार गरिएको प्राविधिक गम्बरसिंह थापाले बताउनुभयो । गाउँपालिकाभित्र नौलो खेती भित्रिनाका साथै स्थानीयवासीले रोजगारीसमेत प्राप्त गरेका छन् । (रासस)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>