देश/प्रदेश
काठमाडौंबाट पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौं, साउन २१
काठमाडौंको गोङ्गबुबाट पेस्तोलसहित तीन जना पक्राउ परेका छन् ।
पेस्तोलसहित धादिङका २४ वर्षीय विकेश मगर भन्ने विपिन मगर, २५ वर्षीय मन्दिप थापा र १९ वर्षीय सुजन मगर पक्राउ परेका हुन् ।
बुधबार साँझ महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित वीरेन्द्र ऐश्वर्य मार्गको आरके रेष्टुराँबाट पक्राउ गरेको हो ।
गोङ्गबु विजी मलअगाडि सडकमा जाँचका क्रममा स्कुटर छोडेर भागेपछि प्रहरीले पिछा गर्ने क्रममा आरके रेष्टुराँमा लुकेर बसेका उनीहरूलाई पेस्तोलसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।
प्रहरीले उनीहरुको साथबाट एक थान पेस्तोल, एक थान म्यागजिन, पाँच राउण्ड गोली, दुई थान खुकुरी र गाँजा बरामद गरेको छ ।
यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।



























