शिक्षा
आफैं प्रश्न बनाउने,आफैं जाँच्ने र भाइलाई पास गराउने पूर्वसहसचिव शिक्षक सेवा आयोगमा नियुक्त

काठमाडौं,साउन २१-
परीक्षामा अनियमितता गरेको पुष्टि भएका शिक्षा सेवाका अवकाशप्राप्त सहसचिव डा. डिल्लीराम रिमाललाई सरकारले शिक्षक सेवा आयोगको सदस्यमा नियुक्त गरेको छ । मंगलबारको मन्त्रिपरिषद बैठकले रिमाललाई नियुक्त गरेको हो ।
परीक्षामा अनियमितता गरेको आरोपमा अख्तियारले २०६३ साल कार्तिक १७ गते कारवाहीका लागि पत्राचार गर्ने निर्णय गरेको थियो । अख्तियारले त्यतिबेला शिक्षक सेवा आयोगलाई ध्यानाकर्षण गर्दै पत्र पठाएको थियो भने अनुचित कार्य गरेको आरोपमा रिमाललाई पाँच वर्ष परीक्षा प्रक्रियामा संलग्न नगराउन प्रतिवन्धात्मक व्यवस्था गर्नू भनी पत्राचार गरेको थियो ।
माध्यमिक तहका शिक्षक पदको लेखा विषयका प्रश्नपत्र निर्माण, मोडरेशन,उत्तरपुस्तिका परीक्षणलगायतका काममा संलग्न भइ आफन्तलाई पास गराएको लाई माध्यमिक तहका शिक्षक पदको परीक्षामा आफन्तलाई उत्तीर्ण गराएको भन्दै रिमाललाई अख्तियारले कारवाहीको निर्देशन दिएको थियो ।
शिक्षा मन्त्रालयको उपसचिव रहँदा रिमाललाई प्रश्नपत्र निर्माणको कार्यमा विशेषज्ञका रूपमा पठाएको र सोही विषयको उत्तर पुस्तिका परीक्षण पनि उनैले गरेर भाइ नाता पर्ने लेखनाथ रिमाललाई पास गराई अन्तर्वार्तामा सामेल गराएको अख्तियारको छानविनले पुष्टि गरेको थियो ।
तत्कालीन अवस्थामा रिमाल सिरहाको जिल्ला शिक्षा अधिकारी रहे पनि कार्यालयबाट बिदा लिई काठमाडौं आएको र लेखा विषयका उत्तरपुस्तिका परीक्षण गरेको अख्तियारको निर्णयमा उल्लेख छ ।



























