चितवन विशेष

फोनिजको स्थापना दिवसमा चितवनमा दुई जना सम्मानित

Banner

चितवन, साउन २३–

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनले दुई जना पत्रकारलाई सम्मान गरेको छ। फोनिजको २७औँ स्थापना दिवसका अवसरमा बिहानी मिडियाका सञ्चालकसमेत रहेका फोनिज चितवनका सचिव आशिक रानामगर र इच्छाकामना न्युज डटकमका कार्यकारी सम्पादक चित्र ‘सोल्टी’ गुरूङलाई सम्मान गरेको हो ।

फोनिज चितवनको संस्थागत विकास, सुदृढीकरण तथा सशक्त सङ्गठन निर्माणका साथै आदिवासी जनजाति पत्रकारहरुको उन्नयनमा महत्त्वपूर्ण योगदान पु¥याएको भन्दै सम्मान गरिएको फोनिज चितवनले जनाएको छ । सम्मानित दुवैजनालाई इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङ, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्तराज पराजुली, नेपाल आदिवासी जनजाति महासंघ ९नेफिन० चितवनका अध्यक्ष सागर कुमाललगायतको उपस्थितिमा सम्मान–पत्र र दोसल्ला प्रदान गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष गुरूङले फोनिज चितवनको रचनात्मक कार्यक्रमबाट समाज रूपान्तरणमा सकारात्मक उर्जा प्राप्त भएको बताए । उनले इच्छाकामना गाउँपालिकामा फोनिजकर्मीसहित अन्य सञ्चारकर्मीले सूचना सम्प्रेषणमा पु¥याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्यको अपेक्षा व्यक्त गरे ।

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) चितवनका अध्यक्ष सागर कुमालले आदिवासी जनजातिको हकअधिकारका लागि आफू निरन्तर अघि बढिरहेको बताउँदै फोनिजको हरेक कार्यमा नेफिन सँगै रहेको बताए । साउन २४ गते परेको विश्व आदिवासी दिवसमा नेफिन चितवनले गर्न लागेको कार्यक्रममा पनि सञ्चार जगतबाट साथ दिन आग्रह गरे ।

नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्तराज पराजुलीले आदिवासी जनजातिको हकअधिकारका विषयमा महासंघले लामो समयदेखि कलम चलाउँदै आएको दाबी गरे । फोनिजको स्थापनापछि महासंघले उठाउँदै आएको विषयवस्तुमाथि थप बल पुगेको उनले बताए । आगामी दिनमा पनि आदिवासी जनजातिका मुद्दामा महासंघको तर्फबाट सहयोग निरन्तर रहने प्रतिबद्धतासमेत जनाए ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय अध्यक्ष एवम् चितवन जिल्लाका संस्थापक अध्यक्ष सन्तकुमार चौधरी, नेपाल आदिवासी जनजाति महिला महासंघ चितवनकी अध्यक्ष शोभा थापामगर, तामाङ पत्रकार संघ चितवनका अध्यक्ष प्रकाश तामाङलगायतले पनि मन्तव्य दिएका थिए । कार्यक्रममा फोनिज चितवनका उपाध्यक्ष उर्गेन तामाङले स्वागत गरेका थिए ।

अक्षयकोषको लागि अर्थ सङ्कलन

फोनिज चितवनले संस्थागत विकास र फोनिजकर्मीको उत्थानको लागि अक्षयकोष स्थापना गर्ने तयारी गरेको छ । आफ्ना सदस्यहरुको क्षमता विकासमा समेत योगदान दिने उद्देश्यका साथ ‘फोनिज अक्षयकोष’ स्थापना गर्न लागेको फोनिज चितवनका अध्यक्ष तुलमान गुरूङले जानकारी दिए । उनका अनुसार अक्षयकोषको लागि हालसम्म करिब ८० हजार रूपैयाँ रकम जम्मा भएको छ ।

अक्षयकोषको लागि करिब ६० हजार रुपैयाँ फोनिज स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममै सङ्कलन भएको फोनिज चितवनका कोषाध्यक्ष उमेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार फोनिज चितवनका अध्यक्ष तुलमान गुरूङ, फोनिज वागमती प्रदेशका निवर्तमान उपाध्यक्ष राजेश रुम्बा, फोनिज चितवनकी कार्यसमिति सदस्य विनिता श्रेष्ठ, फोनिज चितवनका सचिव आशिक रानामगर, कोषाध्यक्ष उमेश श्रेष्ठ, नेपाल आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष शोभा थापामगर, भरतपुर निवासी चन्दा गुरूङ, फोनिज चितवनका निवर्तमान अध्यक्ष रमेश रानामगरलगायतले आर्थिक सहयोग गरेका छन् ।

फोनिज चितवनले फोनिजकर्मीलाई बलियो बनाउनको लागि अक्षयकोष सञ्चालन गर्न लागेको हुँदा कोष बलियो भएमा फोनिजकर्मी पनि सशक्त बन्न सक्ने लक्ष्य लिएको छ । सोहीअनुसार कोषलाई बढाउँदै लैजाने फोनिज चितवनका कोषाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>