देश/प्रदेश

हिरासत कक्षमा नै थुनुवा मृत फेला, हत्या भएको भन्दै परिवारको दाबी

Banner

जनकपुरधाम, साउन १५ –

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा एक जना थुनुवा झुण्डिएको अवस्थामा मृत भेटिएको छ । थुनुवा कक्षमा राखिएका धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–२ सिनुरजोडा घर भएका पल्टु रविदास मृत फेला परेका हुन् । रविदास आफैंले लगाएको गञ्जीलाई पासो बनाई हिरासत कक्षको शौचालयभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । प्रहरीले दिएको जानकारी अनुसार उनले आत्महत्या गरेका हुन् ।

ज्यान मार्ने उद्योग तथा कुटपिट अंगभंग मुद्दामा प्रहरीले उनलाई पक्राउ गरेको थियो । आफ्नै भाइसँगको विवादमा ज्यान मार्ने उद्योग तथा अंगभंग मुद्दामा धनुषा जिल्ला अदालतले २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर आर्थिक कमजोर रहेका उनले धरौटी बुझाउन नसक्दा अदालतले कारागार पठाउन आदेश दिएपछि प्रहरीले कारागार लैजानकै लागि हिरासतमा राखेको थियो । सोही क्रममा उनले आत्महत्या गरेको प्रहरीले बताएको छ ।

यद्यपि रविदासको परिवारजनले आत्महत्या नभई हत्या हुन सक्ने भन्दै घटनाको छानबिन गर्न माग गरेका छन् । यसअघि पनि २७ जेठ २०७७ को राति धनुषाको सबैला नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका एक युवा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

सवारी ज्यान मुद्दामा पक्राउ परेका २२ वर्षीय शम्भु सदा थुनुवा कक्षभित्रै पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>