देश/प्रदेश
डिल्लीबजारको जेलबाट रेशम चौधरीलाई हस्ताक्षर सनाखत गर्न निर्वाचन आयोग लगियो

काठमाडौं, साउन ११ –
जनता समाजवादी पार्टी (जसपा) को आन्तरिक विवादमा हस्ताक्षर सनाखत गराउन डिल्लीबजार कारागारमा रहेका कार्यकारिणी समिति सदस्य रेशम चौधरीलाई निर्वाचन आयोग पुर्याईएको छ ।
चौधरीलाई सोमबार दिउँसो निर्वाचन आयोग पुर्याइएको हो। यसअघि चौधरीको हस्ताक्षर जेलबाटै सनाखत गर्ने तयारी थियो। आयोगले पनि जेलमै गराउन पत्र पठाएको थियो।
तर चौधरीले नमानेपछि उनलाई जेलबाट निर्वाचन आयोग लगिएको हो। आयोगबाट अर्को पत्र पठाएपछि मात्रै उनलाई आयोग लगिएको हो। चौधरीलाई आयोग लैजाँदा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको थियो।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंह नै आयोगमा खटिएका थिए। अहिलेसम्म उपेन्द्र यादवको पक्षमा ३४ जनाको हस्ताक्षर सनाखत भएको छ भने महन्थ ठाकुरको पक्षमा १६ जनाले हस्ताक्षर गरेका छन्।
चौधरीले आफूले कसका पक्षमा हस्ताक्षर गर्नेबारे दुबै पक्षका नेतासँग छलफल गरेरमात्र निर्णय गर्ने प्रतिक्रिया दिए ।



























