देश/प्रदेश

अन्तरजातीय विवाह गरेका जोडीलाई रुकुमकाण्ड दोहोर्‍याइदिने भन्दै आफन्तको धम्की(भिडियोसहित)

Banner

कैलाली, असार २५

कैलालीमा अन्तरजातीय विवाह गरेका एक जोडीलाई कुटपिट गर्दै गत वर्ष वैशाखमा घटेको रुकुमकाण्ड दोहोर्‍याइदिने भन्दै युवतीका आफन्तले धम्की दिएका छन् । कैलाली भजनी नगरपालिका ४, झलझलियाका प्रकाश विश्वकर्मा र मालती रावलले ४ असारमा विवाह गरेका थिए । विवाहपछि युवतीका आफन्तले युवकलाई मार्ने धम्की दिएपछि ज्यान जोगाउन उनीहरू २१ दिनजति जंगलमा लुके । शुक्रबार उनीहरूले सामाजिक सञ्चालमार्फत भिडियो सार्वजनिक गर्दै आफूहरूलाई बचाउन आग्रह गरेका छन् ।

भिडियोमा युवती भन्छिन्, ‘जबर्जजस्ती विवाह भनेर मुद्दा हालिरहेका छन् । हामी जबर्जस्ती भनेर आको होइन, आफ्नै मनले विवाह गरेर आएको हो, तैपनि घरका सदस्यहरू मानिराका छैनन् । हामी दुई माया गरेर आको, मेरो पेटमा नि बच्चा छ ।’

उनीहरु एक वर्षअघिदेखि प्रेमसम्बन्धमा रहेका थिए । युवतीको पेटमा एक महिनाको गर्भ रहेको उनीहरूले जानकारी दिएका छन् । युवक प्रकाशका अनुसार युवतीको परिवारले मार्ने, काट्ने धम्की दिइरहेका छन् ।

युवतीका एक आफन्तले रुकुम काण्ड दोहोर्‍याउने धम्की नै दिए उनले बताएका छन् । युवकले पठाएको म्यासेजको स्क्रिनसटमा युवतीका आफन्तले ‘डुमिनी’ भन्दै गाली गर्दै रुकुम काण्ड दोहोर्‍याउने धम्की दिएका हुन् ।

युवतीको परिवारले युवकको परिवारलाई बारम्बार धम्की दिएपछि प्रकाश र मालती आज दिउँसो मात्र जंगलबाट घर फर्किएका थिए । ‘घरकालाई नै मार्छौं भनेपछि हामी आज मात्र घर गएका थियौँ,’ प्रकाशले भने, ‘घरमा पनि बुबा मुटुको रोगी हुनुहुन्छ ।’

घर पुगेलगत्तै युवतीका आफन्तले युवतीलाई कुटपिट गर्दै लगेका छन् । २० वटाजति मोटरसाइकल र गाडीमा आएका युवतीका आफन्तले युवकलाई कुटपिट पनि गरेका छन् ।

जंगलबाटै ज्यान बचाउन आग्रह गर्दै भिडियो सार्वजनिक भएपछि नगरपालिकाले उनीहरूलाई घर फर्काउन प्रहरीलाई आग्रह गरे । आफ्नो इच्छाले विवाह गरेको जोडीलाई जातीय विभेदको सिकार हुन नदिने नगरपालिकाले प्रतिवद्धता जनाएका छन् ।

 

https://www.facebook.com/vijay.bk.54/videos/534903550893397

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>