गण्डकी

राससलाई बलियो बनाउन हाम्रो साथ रहन्छः प्रदेश प्रमुख पौडेल

Banner

गण्डकी,असार १७-

गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलसँग राष्ट्रिय समाचार समितिका अध्यक्ष श्यामल अधिकारी र महाप्रबन्धक सिद्धराज राईले आज भेटघाट गर्नुभएको छ । प्रदेश प्रमुखको सरकारी निवासमा भएको भेटघाटमा जनता र राष्ट्रलाई जोड्ने माध्यमका रुपमा राससले गरेको सेवा प्रवाहलगायत विषयमा छलफल भएको थियो ।
भेटघाटमा प्रदेश प्रमुख पौडेलले प्रत्येक सञ्चारमाध्यमले सत्यतथ्य सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिँदै पछिल्ला समयमा सामाजिक सञ्जालको अत्यधिक दुरुपयोग बढ्दै गएकामा चिन्ता व्यक्त गर्नुभयो । राससलाई बलियो बनाउन आफ्नातर्फबाट साथ र सहयोग रहने विश्वास पनि उहाँले दिलाउनुभयो ।
राससका अध्यक्ष श्यामलले देशका ७७ वटै जिल्लामा राससको उपस्थिति रहेको जानकारी दिँदै यसले राज्यको आवाज जनतासँग र जनताको आवाज राज्यसँग पु¥याउने काम गरिरहेको बताउनुभयो ।
सरकारका सत्यतथ्य समाचार सम्प्रेषणका लागि राससको अधिकतम उपयोग गर्नाका साथै स्रोतसाधन सम्पन्न बनाउन प्रदेश सरकारको महत्वपूर्ण भूमिका हुनेमा उहाँको जोड थियो ।
राससका महाप्रबन्धक राईले पोखरास्थित रासस गण्डकी प्रदेश कार्यालयको भवन जीर्ण भएका कारण यसलाई भत्काएर नयाँ बनाउने तयारीमा लागिएको जानकारी दिनुभयो । रासस सेवाको गुणस्तरीयता अभिवृद्धि गर्दै प्रभावकारी सेवा प्रवाह गर्नेतर्फ आफूहरू लागेको उहाँको भनाइ थियो । भेटघाटमा रासस गण्डकी प्रदेश कार्यालय प्रमुख वासुदेव पौडेल, सहायक समाचारदाता हरिप्रसाद बाँस्तोला, प्रदेश प्रमुखको सचिवालयका मुकुन्द दाहाललगायतको उपस्थिति थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>