देश/प्रदेश
अमेरिकाले थप साढे ५ करोड ५० लाख खोप वितरण गर्ने, नेपालले सिधै नपाउने

काठमाडौं,असार ८ –
अमेरिकाले थप ५ करोड ५० लाख डोज खोप विभिन्न मुलुकलाई वितरण गर्ने भएको छ । अमेरिकाले नेपालसहित १८ एसियाली मुलुकलाई कोभ्याक्स मार्फत थप १ करोड ६० लाख खोप विनियोजन गरेको छ । जस मध्ये अमेरिकाले खोप दिने घोषणा गरेका एसियाली मुलुकहरुमा भारत, नेपाल, बंगलादेश, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, भुटान, फिलिपिन्स, भियतनाम, इण्डोनेसिया, थाइल्याण्ड, मलेसिया, लाओस, पपुवा न्यूगिनी, ताइवान, कम्बोडिया र प्यासिफिक आइल्याण्ड रहेका छन् ।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले खोप वितरणको विस्तृत विवरण सोमबार सार्वजनिक गरेको छ ।
अमेरिकाले ल्याटिन अमेरिका, एसिया, मध्यपूर्व, अफ्रिका र क्यारेबियन मुलुकलाई दिन लागेको खोपमध्ये ७५ प्रतिशत कोभ्याक्समार्फत् दिने भएको छ । बाँकी २५ प्रतिशत खोप सोझै सम्बन्धित मुलुकलाई दिने तयारी भएको समाचार संस्था रोयटर्सले जनाएको छ । पछिल्लो खोपमध्ये ४ करोड १० लाख खोप कोभ्याक्समार्फत् बाँडिनेछ भने १ करोड ४० लाख डोज सोझै दिइनेछ।
नेपाल अमेरिकाबाट सोझै खोप पाउने मुलुकको सूचीमा समावेश छैन । दक्षिण एसियामा अफगानिस्तान, बंगलादेश र पाकिस्तानलाई अमेरिकाले सोझै खोप दिने तयारी गरेको छ । अमेरिकाले फाइजर, मोडेर्ना, जोन्सन एन्ड जोन्सन कम्पनीले बनाएका खोप अरू मुलुकलाई वितरणको तयारी गरेको हो । अमेरिकाले आफूले प्रयोग नगरेको खोपको केही मात्रा र बाँकी खरिद गरेर विभिन्न मूलुकलाई सहयोग गर्न लागेको हो । खोप धनी मुलुकहरूको मात्रै पहुँचमा पुगेको भन्दै अमेरिका लगायतका कयौँ मुलुकहरूलाई खोपको समान वितरणका लागि चर्को दबाब छ ।

























