अन्तर्राष्ट्रिय

पूर्वराजा ज्ञानेन्द्र सहभागी भएको भारतमा गरेको कोभिड परीक्षणको प्रतिवेदन नक्कली दिएको आरोप

Banner

असार ४ –

नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह पनि सहभागी भएका भारतको कुम्भमेलामा गरिएको कोभिड परीक्षणको नक्कली प्रतिवेदन दिएको आरोप लागेको छ । भारतको उत्तराखण्ड राज्यले निजी प्रयोगशालाहरूले कोभिड परीक्षणको नक्कली प्रतिवेदन दिएको भन्ने आरोप लागेपछि छानबिन गर्न आदेश दिएको छ।

हरिद्वारमा गत एप्रिल महिनामा कुम्भमेला आयोजित हुँदा गरिएका एक लाख वटाभन्दा बढी परीक्षणमा नक्कली नाम, मोबाइल नम्बर र ठेगाना उल्लेख भएको पाइएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। त्यतिबेला राज्य सरकारले मेलामा सहभागी हुन गएका मानिसको परीक्षण गर्न निजी प्रयोगशालाहरूलाई जिम्मा दिएको थियो।

कोभिड महामारीको दोस्रो लहर सुरु भएको बेला उक्त मेला आयोजना गर्न दिएको भन्दै उत्तराखण्ड सरकारको चर्को आलोचना भएको थियो। विभिन्न राज्यबाट प्राप्त विवरणअनुसार हरिद्वारबाट फर्किएका धेरै मानिसमा कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो।

दिल्ली हुँदै नेपाल फर्किएपछि पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलमा कोभिड पुष्टि भएको थियो। सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेर भारतका विभिन्न स्थानमा अक्सिजन र अस्पतालको शय्या अभाव भएको बेला हजारौँ मानिसहरू मास्क नलगाईकन कुम्भमेलामा सहभागी भएका थिए।

हरिद्वारमा गएको एप्रिलमा कुम्भमेलाका लागि ९० लाख भन्दा बढी मानिसहरूले भाग लिएका थिए । त्यतिबेला अधिकारीहरूले प्रत्येक व्यक्तिको कोभिड परीक्षण गर्ने बताएका थिए।

त्यसका लागि हरियाणा र दिल्लीस्थित प्रयोगशालालाई अधिकांश परीक्षण गर्ने जिम्मा दिइएको थियो। तर गत साता प्रकाशित विवरणहरूका अनुसार ती प्रयोगशालाले आफ्नो दैनिक कोटाअनुसार परीक्षण गरिएको देखाउन कोभिड परीक्षणको नक्कली प्रतिवेदन दिएको अधिकारीहरूले बताएका छन्। बीबीसी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>