अन्तर्राष्ट्रिय

हिरोसिमामा आणविक बम आक्रमणको ८१औँ वर्षगाँठः आणविक हतियारमुक्त विश्वको आह्वान

Banner

काठमाडौं, साउन २१-

जापानले बिहीबार हिरोसिमामा भएको आणविक बम आक्रमणको ८१औँ वर्षगाँठ मनाएको छ । सन् १९४५ को दोस्रो विश्वयुद्धका क्रममा भएको उक्त विनाशकारी घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा आयोजित कार्यक्रममा आणविक हतियारमुक्त विश्व निर्माणको आह्वान गरिएको छ ।

जापानी सार्वजनिक प्रसारक एनएचकेका अनुसार हिरोसिमास्थित पिस मेमोरियल पार्कमा आयोजित वार्षिक स्मृति समारोहमा प्रधानमन्त्री ताकाइची सानेसहित १२३ देश तथा क्षेत्रका प्रतिनिधिहरू सहभागी भएका थिए । कार्यक्रममा आणविक आक्रमणमा मृत्यु भएका व्यक्तिहरूलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

समारोहका क्रममा हिरोसिमा आणविक बम पीडितहरूको अद्यावधिक नामावली स्मारकमा राखिएको थियो । उक्त सूचीमा पछिल्लो एक वर्षमा निधन भएका जीवित पीडित ९हिबाकुसा० सहित कुल ३ लाख ५३ हजार ६३९ जनाको नाम समावेश गरिएको छ ।

सन् १९४५ अगस्ट ६ मा बिहान ८ बजेर १५ मिनेटमा अमेरिकाले हिरोसिमामा ‘लिटिल ब्वाई’ नामक युरेनियम आधारित आणविक बम खसालेको थियो । उक्त आक्रमणले सहरलाई पूर्ण रूपमा ध्वस्त बनाएको थियो । विस्फोट, तापीय प्रभाव र विकिरणका कारण सन् १९४५ को अन्त्यसम्म करिब १ लाख ४० हजार मानिसको मृत्यु भएको अनुमान गरिएको छ ।

हिरोसिमा आक्रमणको तीन दिनपछि अगस्ट ९ मा अमेरिकाले नागासाकीमा दोस्रो आणविक बम ‘फ्याट म्यान’ खसालेको थियो । त्यसपछि जापानले अगस्ट १५, १९४५ मा आत्मसमर्पण घोषणा गरेसँगै दोस्रो विश्वयुद्ध अन्त्य भएको थियो ।

आणविक बमबाट बाँचेका पीडितहरूलाई जापानमा ‘हिबाकुसा’ भनिन्छ । उनीहरूले दशकौँदेखि आणविक हतियार उन्मूलनका लागि अभियान चलाउँदै आएका छन् । तर विकिरणका कारण धेरै पीडितले जीवनभर क्यान्सर तथा अन्य स्वास्थ्य समस्यासँग जुध्नुपरेको एनएचकेले जनाएको छ ।

जापानमा अझै करिब ९१ हजार हिबाकुसा जीवित रहेको र उनीहरूको औसत उमेर ८६ वर्ष रहेको जनाइएको छ । पछिल्लो समय विश्वव्यापी सुरक्षा चुनौती बढ्दै गएको भन्दै आणविक जोखिमप्रति चिन्ता थपिएको छ ।

अमेरिका र रुसबीचको नयाँ स्टार्ट सन्धि फेब्रुअरीमा समाप्त हुनु तथा आणविक हतियार अप्रसार सन्धिको समीक्षा सम्मेलनले अन्तिम दस्तावेज पारित गर्न नसक्नुले पनि जोखिम बढाएको एनएचकेले उल्लेख गरेको छ । हिरोसिमाले ८१औँ वर्षगाँठको अवसरमा पुनः अन्तर्राष्ट्रिय समुदायलाई आणविक हतियारको पूर्ण उन्मूलन र दीर्घकालीन विश्व शान्तिका लागि पहल गर्न आग्रह गरेको छ । एएनआई

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>