देश/प्रदेश
तीज गीत निकाल्दा सामाजिक सद्भावमा खलल नपुर्याउन प्रतिष्ठानको आग्रह

काठमाडौं, असार ३
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले तीज गीत निकाल्दा कलाकारहरूलाई सामाजिक सद्भावमा खलल नपुर्याउन आग्रह गरेको छ । प्रतिष्ठानले तीजका गीत निकाल्ने कलाकारलाई शव्द चयनमा ध्यान दिई तीजको मौलिकता र संस्कृतिलाई विचार गर्नसमेत आग्रह गरेको हो ।
पछिल्लो समय तीज गीतको नाममा देखिएका विकृति, विसंगति, अभद्र श्रव्यदृश्य सामग्री आउने गरेको भन्दै यसमा सचेत रही दर्शक तथा स्रोताले गरेको आग्रहलाई सम्मान गर्न प्रतिष्ठानले एक विज्ञप्ति निकाल्दै स्रष्टाको ध्यानाकर्षण गराएको थियो ।
‘नेपाली मौलिक लोकगीत संगीत अन्तर्गत पर्व गीत विशेष तीज गीतलाई हाम्रो संस्कृतिको अर्को महत्वपूर्ण गीतको रूपमा लिइन्छ । हरेक वर्ष उल्लेखनीय मात्रामा तीज गीत कुनै न कुनै माध्यमबाट व्यावसायिक रूपमा हेर्न पाईन्छ । यो सुखद् पक्ष पनि हो,’ विज्ञप्तिमा भनिएको छ।
प्रतिष्ठानले अगाडि भनेको छ, ‘कतिपय तीज गीतको नाममा देखिएका विकृति, विसंगति, अभद्र श्रव्यदृश्यहरूप्रति समस्त दर्शक स्रोताहरूको गुनासो बर्सेनि आइरहने हुँदा यस वर्ष पनि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको विशेष ध्यान आकर्षण भएको छ । तसर्थ, सम्पूर्ण स्रष्टा, सर्जक, गायक(गायिकाले, उत्पादक, रेकर्डिङ स्टुडियो, श्रव्यदृश्य निर्माणकर्ता एवम् वितरकहरूमा सामाजिक सद्भावमा खलल पुर्याउने एवंम् अभद्र र नियतवश दुई अर्थी अपाच्य शब्द सामग्री प्रयोग गरी संस्कृति बिगार्ने खालका गीतसंगीत प्रस्तुत नगरिदिनु हुन अनुरोध गर्दछौँ ।’



























