गण्डकी

कांग्रेसबाट निर्वाचित वडाध्यक्षद्वारा महानगरपालिका र प्रदेशलाई सुझाव

Banner

गण्डकी,असार २ –

नेपाली कांग्रेसबाट पोखरा महानगरपालिकाका ११ वडामा निर्वाचित वडाध्यक्षले महानगरपालिकालाई विभिन्न पाँचबुँदे सुझाव दिएका छन् । महानगरपालिकाले बजेट अधिवेशनमार्फत आर्थिक वर्ष २०७८/७९ को बजेट विनियोजनको तयारी गरिरहेका बेला कांग्रेसबाट निर्वाचित वडा नं २, ३, ४, ६, ९, १०, ११, १२, २३, २७ र ३२ का वडाध्यक्षले कोरोनाको रोकथाम र नियन्त्रणलगायत विषयमा सुझाव दिएका हुन् ।

वडाध्यक्षका तर्फबाट कांग्रेस प्रदेशसभा दलका नेता तथा सचेतक रामराज लामिछानेले विज्ञप्ति प्रकाशित गरी कोरोनाबाट प्रत्यक्ष प्रभावित पर्यटन, उद्योग, व्यापार, यातायात क्षेत्रलाई ५० प्रतिशत कर छुट दिन, स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर खोपको व्यवस्था मिलाउन, निष्पक्ष रुपमा बजेट विनियोजन गर्न सुझाव दिनुभएको छ ।

लामो समयदेखि स्थानीय तहमा कार्यरत स्थायी, अस्थायी, करार, ज्यालादारी कर्मचारीको मनोबल उच्च हुने गरी वृत्तिविकासका कार्यक्रम ल्याउन र निजामती सरह नै सेवासुविधा प्रदान गरी एक तह बढुवा गर्न सुझाव दिइएको छ ।

त्यस्तै स्वास्थ्य महाशाखाका कर्मचारीले कोरोनाको खोप दुरुपयोग गरेको भन्ने सुनिएको भन्दै सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न सुझाव दिइएको छ ।

साथै गण्डकी प्रदेश सरकारलाई पनि तीनबुँदे सुझाव दिँदै नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखी बजेट विनियोजन तथा खोपको व्यवस्था गर्न आग्रह गरिएको छ ।

त्यस्तै कोरोना प्रभावित क्षेत्रमा सम्बद्व सबै क्षेत्रका उद्योगी–व्यवसायीलाई सम्बोधन हुने गरी करको दायरा बढाएर दर कम गर्न, पोखराको पृथ्वीचोक बसपार्क यसअघिको प्रदेश सरकार र महानगरपालिकाले बनाउन कुनै पहल नगरेको हुँदा आवश्यक पहल गर्न प्रदेश सरकारलाई सुझाव दिइएको छ ।

विज्ञप्तिमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको प्रदेश सरकारलाई बधाई तथा शुभकामना व्यक्त गर्दै विपद् प्रतिकार्य योजना बनाउने र महिलाको स्तन, पाठेघरको मुख तथा पाठेघरको क्यान्सर उपचार निःशुल्क बनाउने प्रदेश सरकारको निर्णय प्रशंसनीय भएको भन्दै स्वागत गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>