देश/प्रदेश
बाढीपहिरो पीडितको उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रचण्डको माग

काठमाडौं, असार २ –
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढी पहिरोपीडितको उद्धार तथा राहतलाई प्रभावकारी बनाउन माग गरेका छन्। सिन्धुपाल्चोक, मनाङलगायत जिल्लामा बाढीपहिरोले क्षति पुर्याएकोले उद्धार र राहतको व्यवस्थापन मिलाउन प्रचण्डले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘बाढी–पहिरोले सिन्धुपाल्चोक, मनाङ लगायत देशका विभिन्न भागहरुमा धनजनको ठूलो क्षति भएको छ भने कोशी, नारायणी, सेती, कमला, तिनाउ, कर्णाली, महाकाली लगायतका नदीहरुमा पानीको बहाव उच्च भई बस्तीहरु डुब्ने खतरा पैदा भएको छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रचण्डले संघीय, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै तत्काल उद्धार र राहत कार्य प्रभावकारी बनाउन आग्रह गरेका छन्। उनले पार्टीका नेता तथा कार्यकर्तालाई उद्धार र राहतमा जुट्न पनि आग्रह गरेका छन्। बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई राहत दिन तथा घाइतेलाई निशुल्क उपचार गर्न प्रचण्डले माग गरेका छन्।

























