Breaking News

चितवनमा दलित भन्दै कुटपिट गर्नेमाथि अदालतमा मुद्दा दर्ता, एक जना प्रहरीको नियन्त्रणमा

Banner

मनिका विश्वकर्मा

चितवन, जेठ १७-

चितवनमा दलित भन्दै कुटपिट गर्नेमाथि कारबाहीका लागि ज्यान मार्ने उद्योग कसुर सम्बन्धि प्रहरीमा जाहेरी दर्ता गरी जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।

पूर्वी चितवनको इलाका प्रहरी कार्यालयमा पीडित पक्षले जाहेरी दर्ता गरेको हो । अदालतको आदेश अनुसार १० दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।

कुटपिट घटनामा प्रहरीले एक जनालाई मात्रै पक्राउ गरेको छ अन्य दुई आरोपी फरार रहेका छन् । इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख सुवास भट्टका अनुसार प्रहरीले राजकुमार श्रेष्ठलाई पक्राउ गरेको छ भने उनका आमा चिनीमाया श्रेष्ठ र श्रीमतीको भने खोजीकार्य भइरहेको छ । फरार रहेकाहरुलाई पक्राउ गरी २५ दिनभित्र अदालतमा पेस गरिने भट्टले नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘घटनाको छानबिन भएपछि फरार रहेका २ जनालाई पक्राउ गरेपछि मात्रै २५ दिनभित्र जिल्ला अदालतमा मुद्दा पेस गर्छौ । फरार भएकाहरुको खोजीकार्य भइरहेको छ । घटना अनुसन्धानको क्रममा रहेको छ ।’

उक्त घटना राप्ती नगरपालिका वडा नं ९ मा भएको थियो । डडुवा प्रहरी चौकीले पीडित पक्षले नमिल्ने भन्दाभन्दै पनि औषधि उपचार गरिसकेको भनेर उनीहरुलाई मिलापत्रमा हस्ताक्षर गर्न लगाइएको पीडित कल्पना परियारले नारायणी अनलाइनलाई बताइन् । मिलापत्रमा चित्त नबुझेपछि कल्पनाले कानुनी कारबाही अनुसार नै अघि बढ्ने भनेपछि खैरहनीको इलाका प्रहरी कार्यालयमा ज्यान मार्ने उद्योग कसुर सम्बन्धि मुद्दा दर्ता  गरेको उनको भनाइ छ ।

डडुवा प्रहरी चौकीका प्रमुख राजिब गिरीका अनुसार घटनाको मिलापत्रमा जानुपर्छ भनेर प्रहरीले कुनै दबाब तथा जबरजस्ती गरेको छैन । जनप्रतिनिधि, स्थानीय बासिन्दा, पक्ष, बिपक्षको सहमतिमा नै मिलापत्र भएको गिरीले बताए । गाँउघरको सामान्य झैझगडा भएको र उक्त घटनामा दुवै पक्षको गल्ती देखिएको गिरीको भनाइ छ ।

राप्ती नगरपालिकामा गम्भीर प्रकृतिका घटना दर्ता नहुने भएकोले खैरहनीमा उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डीएसपी सूर्यबहादुर थापाले जानकारी दिए । उक्त घटनाको मुद्दाबारे अनुसन्धानको काम सकिएपछि नै उक्त घटना कानुनअनुसार नै अदालतले अघि बढाउने थापाको भनाइ छ ।

मिलापत्र भएको भोलिपल्ट पनि राजकुमार श्रेष्ठले कल्पनाका छोरा अमृतलाई धम्काउन आएका थिए । अमृतले भने, ‘हिजो नै हामीले सबै मिलाइसकेका छौ भन्दै राजकुमारले उल्टै मुद्दा हालिदिने भनेको थियो । उहाँले मलाई माफी माग्नुपर्ने ठाउँमा धम्की दिएपछि झन् हामी आक्रोशित भयौं ।’

कल्पनाले आफ्ना परिवारका बारेमा गाउँमा नचाहिँदा कुराहरु गर्दै हिडेको राजकुमार श्रेष्ठले बताए । सोमबार साँझ श्रेष्ठले अमृतलाई एक झापड मात्रै हानेको श्रेष्ठ बताउँछन् । श्रेष्ठ नेपाली सेनाबाट सेवा निवृत्त हुन् । उनले अमृतको उपचार खर्च लागि ३० हजार पनि तिरिदिएका छन् । उनलाई इलाका प्रहरी कार्यालय खैरहनीमा थुनामा राखिएको छ ।

स्थानीय बासिन्दाका अनुसार पनि उक्त घटना जातीय विभेदकै कारण भएको दाबी गरेका छन् । घटना हुनुअघि पनि श्रेष्ठका परिवारले कल्पनाका परिवारलाई गालीगलौंज गर्दैै आएको छिमेकीहरु बताउँछन् । कल्पनालाई अहिले स्थानीय बासिन्दा, दलित संगठनहरु, छिमेकी र वडा अध्यक्षको पनि साथ रहेको र श्रेष्ठका परिवारलाई कानुन अनुसार नै कारबाही गर्ने कल्पनाले बताइन् । वडाअध्यक्ष देबेन्द्र लामाले पनि पीडित परिवारलाई सक्दो साथसहयोग गर्ने बताएका छन् । साथै उनले उक्त घटना मिलापत्रमा जानुपर्छ भनेर कुनै दबाब नदिएको समेत दाबी गरे । घटना मुद्दामा नै गइसकेकोले कानुन अनुसार नै पिडक परिवारलाई कारबाही गरिने लामाले भनेका छन् । उक्त घटना अमानवीय ढंगले भएकोले पिडकलाई कारबाही हुनुपर्ने उनले बताए ।

६ दिन अघि कल्पना परियार र उनका छोरा अमृत परियारलाई श्रेष्ठको परिवारले दलित भन्दै गालीगलैज गरी कुटपिट गरेको पीडित पक्षको जीकिर छ । घटना दर्ता नहुँदा वडा कार्यालयबाट नै मिलापत्रमा जानुपर्छ भनेर छलफल भएको कल्पनाले बताइन् ।

घटना विवरण

दुई छोरी र एक छोराका आमा कल्पना परियार एकल महिला पनि हुन । कल्पनाले श्रीमान् बितेपछि घरको आर्थिक कारोबारसहित छोराछोरीको पढाई सबै हेर्दै आएकी छन् । पेसाले उनी किसान हुन् । गत मंगलबार पनि उनी बारीको काम सक्काएर साँझको समयमा उनी बस्तुभाउलाई घाँस दिँदै थिइन् । एक्कासी गाँउमा हल्ला आयो सेते श्रेष्ठको घर नजिकैको घरमा पैसा हरायो भनेर । कल्पनाले सेते श्रेष्ठसँग आर्थिक लेनदेन गरेर केही महिनाअघि नै सबै रकम बुझाइसकेकी थिइन् । कल्पना पनि छोरीलाई बाख्रा खोरमा हाल्नु है भनेर उनी दौडिदै पैसा चोरी भएको घर पुगिन् । त्यहाँ जाने बित्तिकै सेतेको श्रीमती चिनीमायाले कल्पनालाई हेर्दै रिसले मुरमुर्दै भनिन्र्,’थुक्क दमिनी । आज दमिनीको अनुहार हेर्नुप¥यो । ’

मलाई किन तपाइँले यस्तो भन्नुभएको के मात्रै थिइन् उनलाई चिनीमायाले कपाल भुत्ल्याउन आइपुगेको कल्पनाले बताइन् । आमालाई पिटेको देखेर छोरा अमृत परियार पनि छुट्याउन गए । छोरालाई पनि सेतेका छोरा राजकुमार श्रेष्ठ भएर कुटपिट गर्न लागे । कल्पना मलाई छोड–छोड भन्दै गुहार माग्दै थिइन् । गाँउका मान्छेहरु एकछिन त रमिता हेरिरहे । पछि गाँउका केही व्यक्तिहरु मिलेर छुट्याउने कोसिस गर्दै थिए । घरमा भएकी कल्पनाकी छोरीले पनि आमा र दाईलाई कुटेको खबर पाएपछि उनी आतुर हुँदै घटनास्थलमा आइपुगिन् । आफू त्यहाँ पुग्दा दाई र आमाको अवस्था गम्भीर नै भइसकेको थियो । पूजाले भनिन्र्, ‘त्यसपछि मैले प्रहरीलाई खबर गरे । एकछिन म त्यहाँ नपुगेको भए मेरो दाई आमालाई मारिसक्थे । मैले एम्बुलेन्सलाई पनि फोन गरेर दाई र आमालाई अस्पताल लगेँ ।’

भरतपुर स्थित अलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टरमा अमृतको उपचार गरिएको थियो । अमृतको हातको कुमको जोर्नी भाँचिएको थियो भने कल्पना सामान्य घाइते भएकी थिइन् ।

यो पनि पढ्नुहोस् ।

चितवनमा दलित भन्दै आमाछोरामाथि निर्घात कुटपिट, वडा अध्यक्षमार्फत मिलापत्र गर्न दबाब

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>