समाज
विवाह समारोहबाट एकै टोलमा ४४ जना कोरोना सङ्क्रमित

पाँचथर, जेठ ९-
हिलिहाङ गाउँपालिकाका एकै टोलमा हालसम्म कोरोनाभाइरस ४४ जना सङ्क्रमित भेटिएका छन् । हिलिहाङ गाउँपालिका–५ सुभाङको मालबाँसे टोलमा गत शुक्रबारसम्म गरिएको परीक्षणमा ४४ जना सङ्क्रमित फेला परेका हुन् । शुक्रबारमात्रै उक्त वडामा ४३ जनाको एण्टिजेन परीक्षण गर्दा २४ जनामा सङ्क्रमण देखिएको थियो ।
उनीहरूमध्ये अधिकांश सोही टोलका हुन् । मालबाँसे टोलका विभिन्न उमेर समूहका स्थानीयवासीमा सङ्क्रमण देखिएको छ । यहाँ आयोजित विवाहबाट सङ्क्रमण ब्यापक फैलिएको स्थानीयवासीको अनुमान छ ।
अधिकांश स्थानीयवासीमा ज्वरो, रुघाखोकी, खाना नरुच्ने, शरीर दुख्नेजस्ता समस्या भएपछि स्थानीयवासी समेत रहनुभएका शिक्षक वीरेन्द्र सुहाङको समन्वयमा यहाँका आठ जना बिरामीलाई गत आइतबार प्राथमिक स्वास्थ्य केन्द्र गोपेटार पु¥याई एण्टिजेन परीक्षण गरियो । परीक्षणमा सबै जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भयो । त्यसयता गाउँपालिकाले उक्त वडाकै अन्य टोलहरू भालुखोप, अमले, जेभालेमा समेत परीक्षण बढाएको छ । वडाभरीमा हालसम्म ५६ जनामा सङ्क्रमण देखिएको वडा सदस्य राजकुमार पन्थाकले जानकारी दिनुभयो ।

























