राजनीति

हामीलाई कुनै दलले सरकारमा आउन अनुरोध गरेका छैनन्ः अध्यक्ष लिङ्देन

०
Banner

चितवन साउन २०–
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सरकारमा सहभागी हुने विषयमा कुनै औपचारिक छलफल वा निर्णय नभएको बताएका छन् । अध्यक्ष लिङ्देनले राप्रपा आफैं सरकारमा जान पहल गर्ने पक्षमा नरहेको स्पष्ट पारे ।
लिङ्देनले हालसम्म कुनै दलसँग औपचारिक संवाद नभएको र कुनै दलले सहयोगका लागि अनुरोधसमेत नगरेको बताए । ‘हामीले अहिले कुनै हिसाब–किताब लगाएका छैनौँ । कुनै दलसँग औपचारिक कुराकानी पनि भएको छैन । कुनै दलले अनुरोध पनि गरेको छैनन्’ उनले भने, ‘हामी आफैं खोज्दै जाने नीति छैन । यदि हाम्रो इच्छा भएको भए हामी आफैं कुरा गर्न जान्थ्यौँ होला ।’
उनले सरकार गठनका लागि राप्रपाको सहयोग आवश्यक ठाने सम्बन्धित दलहरू नै वार्ताका लागि आउनुपर्ने धारणा राखे । ‘अरूलाई इच्छा छ र हाम्रो सहयोग चाहिने हो भने उनीहरू हामीसँग कुरा गर्न आउनुपर्छ’–उनले भने । लिङ्देनले केही राजनीतिक दलले राप्रपाका सांसदहरूसँग छुट्टाछुट्टै रूपमा सम्पर्क र छलफल गरिरहेको सूचना आएको उल्लेख गर्दै त्यसलाई पार्टीले गम्भीरतापूर्वक लिएको बताए ।
बागमती प्रदेश सरकारको समीकरणबारे बोल्दै उनले त्यहाँ सरकार गठनका लागि अन्य विकल्प रहेको बताए । ‘बागमतीमा सरकार चलाउन नेमकिपा छ, अरू दल छन् । फेरि कांग्रेससँग मिले त सक्कियो नि । मिलेर भागबण्डा लगाएर बाँकी रहेको छ महिना चलाए भइहाल्यो,’– उनले व्यंग्य गरे ।

उनले राप्रपा प्रदेश सरकारको अंकगणितमा सहभागी नहुने स्पष्ट पार्दै बागमती प्रदेश सरकारमा सहभागी हुने वा नहुने अन्तिम निर्णय गर्ने जिम्मेवारी पार्टीले अध्यक्षलाई नै दिएको जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>