Breaking News
भोकभोकै खटिन्छन् चितवनका सुरक्षाकर्मी, न खाजा न पानी

मनिका विश्वकर्मा
चितवन, वैशाख २३ –
चितवनमा कोरोना संक्रमण बढ्दै गएसँगै यसकोे डर सबैलाई उस्तै छ । प्रहरीलाई सरकारको आदेशलाई जसरी पनि पालना गराउने जिम्मेवारी हुन्छ तर उनीहरुको पनि आफ्ना पीडा त्यस्तै छन् । महामारीको यो समयमा उनीहरु वैशाखको चर्काे घाम नभनी भोकभोकै कार्यक्षेत्रमा खटिन बाध्य छन् ।
चितवनकी एक महिला प्रहरी दिनको १० घण्टा ड्युटीमा खटिन्छन् । बिहान ५ बजे उठेर ७ वर्षको छोरालाई खाजा बनाएर घर सफा सुग्घर गर्दै पोसाक लगाई उनी ड्युटीमा आउछिन् । आधा घण्टा हिडेर उनी ड्युटी गर्ने ठाउँमा पुग्छिन् । जिल्ला प्रहरी कार्यालयमा महिला हवल्दारको रुपमा काम गर्ने उनलाई लिन पु¥याउन कुनै साधनको व्यवस्था गरिएको छैन । बिहान ६ बजे ड्युटीमा खटिएकी उनलाई चितवनको चोकचोकमा चेकजाँचको रुपमा राखिने गर्छ । बिहानदेखि उभिएर न घाम, न पानी भनेर आफू खटिरहेको र अझ बिहान काम गर्नेलाई त केही पनि खानेकुराको व्यवस्था नभएको उनी बताउँछिन् । उनले प्रहरीमा जागिर गरेको पनि १५ वर्ष पुगिसक्यो ।
महिला हवल्दारको मात्रै नभएर पुरुष हवल्दारको पनि समस्या उस्तै छ । उनीहरु १२ घण्टा ड्युटीमा खट्नुपर्ने हुन्छ । उनीहरु पनि दिउँसो १२ बजेदेखि बेलुका ६ बजेसम्म र राति १० बजेदेखि १२ बजेसम्म ड्युटीमा खटिनुपर्ने चितवनमा सुरक्षा व्यवस्थापनमा खटिएको एक पुरुषले जानकारी दिए । उनीहरु ड्युटी सकिएपछि आफ्नै घरमा वा व्यारेकमा गएर खाना खान्छन् । चितवनका सुरक्षाकर्मीहरु भोकभोकै ड्युटीमा खट्न बाध्य भएका छन् ।
आन्तरिक स्रोतबाट नै कोरोनाको समयमा खटिने सुरक्षाकर्मीलाई खाजापानीको व्यवस्था गरिएको जिल्ला प्रहरी प्रमुख ओमप्रसाद अधिकारीले जानकारी दिए । नेपाल सरकारले सुरक्षाकर्मीहरुको लागि केही गर्न खोज्यो भने मात्रै केही हुने हो नत्र भने हामीहरुबाट जस्तो आदेश दियो त्यस्तै पालना गर्ने अधिकारीले बताए । सुरक्षाकर्मीहरु दिनको १२ घण्टा ड्युटी गरेवापत उनीहरुको मासिक तलब २२ हजार १० रुपैयाँ हुन्छ । त्यसैमा खाजादेखि सबै खर्च दिइएको अधिकारीले बताए ।
कोरोनाको समयमा नेपालभरी हाल ३८ देखि ४० हजार जना सुरक्षाकर्मी खटिएको नेपाल प्रहरीका केन्द्रीय सूचना अधिकारी बसन्त कुवँरले जानकारी दिए । सुरक्षाकर्मीहरु भोकै खटिरहेको भन्ने कुरा आफूलाई थाहा नै भएको र यसबारे सरकारलाई पहल गरिरहेको कुवँरले बताए ।
भरतपुरमा दिनमा ७ जना महिला प्रहरी चेकजाँचमा खटिरहेका छन् । कोरोना संक्रमण बढ्दै गएपछि सरकारले चितवनसहित विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको छ । चितवनमा वैशाख १७ गतेबाट निषेधाज्ञा छ । चितवनमा कोभिडको समयमा ७६४ जना प्रहरीहरु सुरक्षा व्यवस्थामा खटिएका छन् । उनीहरुको लागि नियमित बजेट १५७ रुपैयाँ मात्रै नेपाल सरकारले छुट्टाइ दिएको र त्यो पनि उनीहरुको तलबमा जोडेर दिइने चितवन प्रहरी प्रवक्ता डीएसपी सरोज गिरीले नारायणी अनलाइनलाई जानकारी दिए ।
सुरक्षाकर्मीहरुको खाजा र खाना खर्च भनेर सरकारले कुनै बजेट नदिएको गिरीले बताए । प्रहरी भएकोले पनि सरकारको निर्णयअनुसार चल्नुपर्ने, उनीहरुले भनेका कामहरु गर्नुपर्ने उनले भने, ‘प्रहरीले खान पाएनन्, खाजा भएन भनेर हामीहरुले राज्यलाई भन्न पनि मिल्दैन । सरकारले नै ग¥यो भने ग¥यो नत्र भने जे छ त्यसमा नै रहेर काम गर्नुपर्छ ।’
प्रत्येक स्थानीय निकायहरुका चोकचोकमा सुरक्षाकर्मीहरु खटिरहेका छन् । उनीहरुका लागि भनेर स्थानीय सरकारहरुले पनि समन्वयन गरेर केही गर्नुपर्ने हो तर त्यस्तो केही नगरेको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । प्रशासन कार्यालयले पनि यस विषयमा केही गर्न नसक्ने र सम्बन्धित निकायले नै सुरक्षाकर्मीहरुको समस्या सुल्झाउनुपर्ने लामिछानेका भनाइ छ ।
























